अखिल फोर्स विघटन हुँदैन, हामीसँग एजेण्डा छ, केपी समुह जस्तो झगडा गर्दैनौँ (भिडियो)
अखिल फोेर्सका केन्द्रिय अध्यक्ष तपेन्द्र शाहीले अखिल फोर्स विशुद्ध विद्यार्थीको विषयमा बोल्ने संगठन भएकाले विघटन नहुने बताएकाछन् । अखिल फोर्ससँग सहि उद्येश्य र एजेण्डा भएकाले चाँडै देशभरी संगठन विस्तार गर्ने तयारी रहेको शाहीको भनाई छ । सोमबार नेपाल आजसँग अन्तक्रिया गर्दै शाहीले अखिल फोर्स छुट्टै विद्यार्थी संगठन नभएर अनेरास्ववियुको एउटा विभाग भएको प्रतिक्रिया दिएकाछन् ।
नेपाल आजसँग बोल्दै शाही भन्छन्, ‘अखिल फोर्ससँग सहि उद्येश्य र एजेण्डा छ । त्यसैले हामी चाँडै देशभरी संगठन विस्तार गर्ने तयारीमा छौँ । अखिल फोर्स बाहिर हल्ला भए जस्तो छुट्टै विद्यार्थी संगठन नभएर अनेरास्ववियुकै एउटा विभाग हो जसको व्यवस्था हाम्रो पार्टीको विधानमै गरिएको छ ।’
यसअघि नेकपा (एमाले)का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल समूहले युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाएका थिए । पार्टीमा रहेको अनेरास्ववियु र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गरिएको भन्दै नेता भट्टराईले त्यसको औचित्यमाथि प्रश्न गरेका थिए ।
अखिल फोर्स गठन हुनुको उदेश्यबारे धारणा राख्दै अध्यक्ष शाहीले बाहिर हल्ला भए जस्तो कसैलाई काउन्टर दिन गठन नभएको बताए । उनि भन्छन्, ‘बाहिर चर्चा भएजस्तो कसैलाई काउन्टर दिन अखिल फोर्स गठन भएको होइन । यो एउटा विद्यार्थीको हकहितमा बोल्ने संगठन हो । हामी तडक भडकमा विश्वास गर्दैनौ । तडक भडक गर्नेलाई जनताले मुल्यांकन गर्छन ।’
केपी ओली समुहको युथ फोर्स र युवा संघले तडक भडकको गलत राजनितिक संस्कार प्रर्दशन गरेको शाहीको धारणा छ । उनि भन्छन्, ‘केपी शर्मा ओली समुहका विद्यार्थीहरुले बाँदर र्याली, शव दहन गरेर गैर राजनितिक संस्कार प्रर्दशन गरे । तर हामीले त्यसको काउन्टरमा कुनै प्रतिक्रिया दिएनौ । त्यसको मुल्यांकन जनताले गर्ने छ । उनिहरुलाई हामीले काउन्टर नदिनुको कारण पनि छ । त्यसले पार्टी एकतालाई धक्का दिन्छ हामी त्यो चाहान्नौँ ।
केपी ओली समुहका युवा संघ अध्यक्ष महेस बस्नेत र अनेरास्ववियु अध्यक्ष ऐन महर गलत बाटोमा भएको शाही बताउँछन् । उनिहरु गलत बाटोमा भएपनि पार्टी एकता गरेर सुधार गर्दै आफुसँगै हिडाउने चाहाना रहेको शाहीको भनाई छ । उनि भन्छन्, ‘केपी ओली समुहका युवा संगठन र विद्यार्थी संगठनका नेताहरुले पार्टी एकताको लागि ओलीलाई दबाव दिएका छैनन् । उनिहरु गलत बाटोमा छन् । अहिले उनिहरु गलत बाटोमा भएता पनि हामी पार्टी एकता गरेर मिलाएर लिन चाहान्छौ ।’