News विदेश

ट्यूनिशियामा राष्ट्रपतिद्वारा संसद निलम्बनको समर्थन र विरोध गर्दै प्रदर्शन, झडपमा सयौँ घाइते

ट्यूनिशियामा राष्ट्रपतिद्वारा संसद निलम्बनको समर्थन र विरोध गर्दै प्रदर्शन, झडपमा सयौँ घाइते

ट्युनिसियामा राष्ट्रपतिले निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएसँगै समर्थन र विरोधमा ठाउँठाउँमा प्रदर्शनहरू भएका छन् । दुई समूहबीच भएका झडपहरूमा सयौँ मानिस घाइते भएका बताइएको छ ।

राष्ट्रपति काइस साइदले आइतबार प्रधानमन्त्री हिसेम मेशीशीलाई हटाई नयाँ प्रधानमन्त्रीको सहयोगमा नेतृत्व आफुुले लिने बताएका थिए।  यहाँको सबैभन्दा ठूलो दल एन्नाहधाले राष्ट्रपतिको कदमलाई ‘कू’ को सज्ञा दिएको छ । 

प्रधानमन्त्री मेशीशीलाई हटाई संसद निलम्बन गरेसँगै उहाँको समर्थनमा हजारौँ मानिस सडकमा ओर्लिएका थिए । सोमबार राष्ट्रपतिले चालेको ‘अप्रजातान्त्रिक’ कदमको विरोधमा एन्नाहधा लगायतका दलले आफ्ना कार्यकर्तालाई राष्ट्रपतिको विरोधमा उत्रिन आह्वान गरेको छन् ।

कोभिड–१९ को महामारी नियन्त्रणमा सरकारले अपेक्षाकृत भूमिका खेल्न नसकेको भन्दै ट्यूनिशियाली नागरिकले सुशासनका लागि आन्दोलन गर्दै आएका थिए । पछिल्ला दिनहरूमा प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भएपछि राष्ट्रपतिले संसद् निलम्बन गरेका हुन ।

“ट्यूनिशियामा सामाजिक शान्ति पुनर्बहाल नभएसम्म र हामी राष्ट्रलाई सुरक्षित नतुल्याएसम्मका लागि राजनीतिक नेतृत्व नयाँ प्रधानमन्त्रीको सहयोगमा हामीमा निहीत रहनेछ,” साईदले टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा भने। राष्ट्रपति कार्यालयमा आपत्कालीन सुरक्षा बैठक गरेपछि टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गरेका हुन । 

घोषणासँगै ट्यूनिससहित अन्य थुप्रै सहरमा झडपहरू भएका छन् । त्यस क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै थुप्रै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । राष्ट्रपति साईदले थप हिंसाहरू भए त्यसलाई नियन्त्रणमा लिन सेनाको प्रयोग गरिने चेतावनी दिएका छन्।

“म चेतावनी दिन चाहन्छु कि जोसुकैले पनि यदि अस्त्र उठाउनेबारे साचेमा र जोसुकैले पनि गोली चलाउँछ भने सशस्त्र फौजहरूले गोलीको जबाफ गोलीमार्फत् दिनेछन्,” उनले भने। 

संसद्माथि ‘सम्भावित खतरा’ छ भने त्यसलाई निलम्बन गर्ने अधिकार संविधानले आफूलाई प्रदान गरेको राष्ट्रपतिको दाबी छ । तर निलम्बनमा परेको संसद्का सभामुख राशिद गनुशीले ट्यूनिशियाको ‘क्रान्ति र संविधानमाथि कू गरिएको’ प्रतिक्रिया दिएका छन्। रासस

विशेष