News कभर स्टोरी

प्राविधिक चलाखी गरेर मिलाईयो ठेक्का, प्रभावशाली नेताको संरक्षणमा ठेक्का सम्झौता

प्राविधिक चलाखी गरेर मिलाईयो ठेक्का, प्रभावशाली नेताको संरक्षणमा ठेक्का सम्झौता

सुनिल धामी 

बझाङको बित्थडचिर गाउँपालिकाले निर्माणाधिन १५ शैयाको अस्पतालमा कमिशनको दाउमा राज्यको करिब ६ करोड क्षती गरेको विश्लेषण गरिएको छ । निर्माण व्यवशायीहरुबीच स्वच्छ प्रतिश्पर्धा बिना कमिशनको लेनदेन गर्न मिल्ने कम्पनीलाई ठेक्का दिन प्राविधिक रुपमा चलाखी गर्दै राज्य कोषको दुरुपयोग गरेको सरोकारवालाहरु बताउँछन् ।
 
गाउँपालिकाले अस्पताल निर्माणका पहिलो पटक टेण्डर आह्वान गर्दा भवनको भित्ता (वाल) ढुंगाबाट निर्माण गर्ने भनेर उल्लेख गर्यो । ढुंगाको पर्खाल जसलाई प्राविधिक भाषामा ‘स्टोन मेसिनरी’ भनिन्छ । सहजै इट्टा नपाइने तर प्रशस्त मात्रामा ढुंगा पाईने ठाउँहरुमा विकास निर्माणका लागि स्टोन मेसिनरी वालबाटै भवन निर्माण गरिन्छ ।

गाउँपालिकाले आह्वान गरेको यो टेण्डर प्रक्रियालाई सहजै रुपमा हेरिएको थियो । दुर दराजमा भवन निर्माणमा सक्रिय थुप्रै निर्माण व्यवशायीहरु टेण्डर हात पार्न प्रतिश्पर्धामा जान तयारी गरिरहेका थिए । तर जब टेण्डर आह्वान भएको करिब २३ दिन पुग्यो गाउँपालिकाले नाटकिय शैँलीमा टेण्डर संशोधन गरिएको भन्दै दोस्रो पटक सुचना निकाल्यो । टेण्डर आह्वान भएको २३औँ दिनसम्म भवन निर्माणको टेण्डर थाप्न तम्तयार रहेका निर्माण व्यवशायी तब अचम्मित भरे जब दोस्रो पटक जारी गरिएको सुचनामा ‘स्टोन मेसिनरी वाल’ को सट्टा ‘अश्लार मेसिनरी वाल’ हुनु पर्ने भनेर उल्लेख गरियो । 


स्टोन मेसिनरी वालको सट्टामा अश्लार मेसिनरी वाल हुनुपर्ने मापदण्ड तोकिएपछि धेरै निर्माण व्यवशायीहरुको कम्पनीसँग यो मापदण्ड नपुग्ने भएकाले स्वच्छ प्रतिश्पर्धा गर्नबाट वन्चित हुनु परेको एकजना ठेकेदार बताउँछन् । उनि भन्छन्, ‘अश्लार मेसिनरी वाल भनेर राख्दा त्यस्तो किसिमको काम गर्ने कुनै पनि कम्पनी छैन । त्यो नभएपछि घटिघटाउ हुने कुरै भएन । सोझै एउटाले ठेक्कापाएपछि कमिशन पनि मिलिहाल्छ ।’

वित्थडचिर गाउँपालिकाले निर्माण गर्न लागेको अस्पतालको ठेक्का जागृती जेभिले पाएको छ । अस्लार मेसिनरी वालको चलाखीपुर्ण 'कार्ड' प्रयोग गर्दै जागृतीले ठेक्का हात पारेको हो । बिना प्रतिश्पर्धा जागृती जेभिले ठेक्का हात पारेपछि ठेक्का घटिघटाउ प्रक्रियामा गएको छैन । योजनाको प्रतिश्पर्धा नहुँदा करिब ६ देखि ७ करोड राज्य कोषको दुरुपयोग भएको जानकारहरु बताउँछन् । एकजना निर्माण व्यवशायी भन्छन्, ‘धेरै प्रतिश्पर्धी भए ३५ प्रतिशत सम्म घटिघटाउमा ठेक्का दिन सकिन्छ । १८ करोडको ३५ प्रतिशत भनेको करिब ६ देखि ७ करोड हुन आउँछ । जसरी अहिले अश्लार मेसिनरी वाल भनेर जागृती जेभिलाई ठेक्का दिईयो यसबाट कम्तिमा पनि ६ करोड राज्यकोषको प्रत्यक्ष नोक्सानी भएको छ ।’

गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि र ठेकेदारले चलखेल गर्दै ठेक्का सम्झौता भएको जानकारहरु बताउँछन् । त्यतिमात्र नभएर अस्पतालको डिपिआर तयार पार्ने कन्सल्टेन्सीको पनि प्रत्यक्ष हात रहेको उनिहरुको दाबी छ । डिपिआर तयार पार्ने कन्सल्टेन्सी एक जना प्रभावशाली नेताको संरक्षणमा सञ्चालन गरिएको जानकारहरु बताउँछन् । प्रभावशाली भनिएका ती नेताको आफ्नै कनेक्सनमा प्राविधिक रुपमा चलाखी गरेर डिपिआर तयार पारिने गरेको र कमिशन चल्ने कम्पनीलाई ठेक्का दिने गरिएको जानकारहरु बताउँछन् । एकजना निर्माण व्यवशायी भन्छन्, ‘जिल्लाका ठुला र महत्वाकांक्षी योजनाहरु तिनै नेताको संरक्षण र प्रभावमा सञ्चालन हुन्छन् । उनको सबैतिर राम्रो प्रभाव भएको हुनाले कसैको केहि लाग्दैन । बझागंमा आउने ठुला योजनामा उनि माफिया जस्तै हुन् । राजनितिको आडमा राज्यको रकम निकै दोहन गरेकाछन् ।’ 

नेपाल आजले प्राविधिक रुपमा चलाखी कमिशनको दाउमा ठेक्का लेनदेन भएकोबारेमा समाचार लेखेपछि सरोकारवालाको ध्यानार्कषण समेत भएकोछ । लोकतान्त्रिक निर्माण व्यवशायी संघ बझाङ र निर्माण व्यवशायी संघ बझाङले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने तयारी गरेको जानकारी प्राप्त भएको छ । केहि सरोकारवालाहरुले सामाजिक सञ्जाल मार्फत पनि यस विषयमा टिप्पणी गरेकाछन् । निर्माण व्यवशायी समेत रहेका होटेल माउण्ट भ्युका सञ्चालक लेख्छन्, ‘अश्लार मेसिनरी मात्र होइन, २ करोड भन्दा तलका टेण्डर पनि सामान्य निर्माण व्यवशायीले टेण्डर हाल्न नमिल्ने डिपिआर डिजाइन गर्न लगाईन्छ ।’ 

प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार समेत रहेका नेता पृथ्वी बहादुर सिहंले लेखेकाछन्, ‘अश्लार मेशिनरी वाल भनेको केहो? यसको लाईसेन्स कस्को छ? बझागंबासीले ठेक्का लिनै नपाउने डिजाईन कसरी गरिदैछ?’


यो पनि,

बित्थडचिरको अस्पताल निर्माणमा 'सेटिङ', वातावरण मिलाउन प्रयोग गरियो ‘अस्लार मेसिनरी वाल’

 

विशेष