News स्वास्थ्य

फाइजर खोप खरिद गर्न सरकारले गर्यो गोप्य सम्झौता

फाइजर खोप खरिद गर्न सरकारले गर्यो गोप्य सम्झौता

अमेरिकासहित विभिन्न देशमा कोभिडविरुद्ध प्रयोग गरिएको फाइजर खोप खरिदका लागि नेपालले ‘नन–डिस्क्लोजर अग्रीमन्ट’ मा हस्ताक्षर गरेको छ।

सरकारले कोभिड–१९ विरुद्धका सबै खोप प्राप्तिका लागि पहल गरेको अवस्थामा फाइजरसँग पनि “एक तहको समझदारी भइसकेको“ र उक्त खोप खरिद गर्नका लागि “स्रोतको पनि जोहो भइसकेको“ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए।

अमेरिकासहित केही मुलुकमा फाइजर–बायोएनटेकले विकास गरेको खोप १२ वर्षमाथिका उमेर समूहमा पनि प्रयोगमा ल्याइएको छ।

नेपालमा पनि सरकारले १२ देखि १८ वर्ष उमेर समूहका मानिसलाई उक्त खोप दिने लक्ष्य राखेको अर्यालले जानकारी दिए।

सरकारले बालबालिकाको संख्याका आधारमा ६० लाख फाइजर खोप प्राप्तिका लागि पहल अघि बढाइएको बताइएको छ।

त्यसबाहेक कोभ्याक्स सुविधामार्फत् थप ४० लाख मात्रा फाइजर खोप नेपालमा ल्याउने तयारी भइरहेको अधिकारीहरू बताउँछन्।

“’हामीले खोप किन्ने प्रक्रिया अघि बढाएका छौँ। उहाँहरूसँग वार्ता गरिरहेका छौँ,“ अर्यालले भने।

अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप प्रयोगमा ल्याइएको छ।

जोनसन एन्ड जोनसन खोप एक मात्रा दिए पुग्छ भने अरू खोप दुई मात्रा दिनुपर्छ।

अर्यालका अनुसार सरकारले फाइजर खोपको उत्पादक फाइजर–बायोएनटेकसँग एउटा “गोप्य सम्झौता“ गरिसकेको छ।

फाइजरसँग खोप खरिद गर्नका लागि विश्व ब्याङ्क र एशियाली विकास ब्याङ्कको ऋण र अनुदान सहयोग परिचालन गरिने तय भएको जनाईएको छ।
बीबीसीको सहयोगमा

विशेष