नेपालमा कोरोनाको नयाँ ‘कप्पा’ भेरियन्ट, थप खतरा वढ्यो
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ फेला परेको छ। योसँगै नेपालमा कोरोनाका तीनवटा भेरियन्ट फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जेठ मध्यदेखि असार मसान्तसम्ममा परीक्षण गरिएका ४७ वटा नमूनामध्ये तीनवटामा थप म्युटेसन देखिएको हो, जसलाई ‘कप्पा’ अर्थात् ‘के ४१७ एन’ (ए.वाई १) नाम दिइएको छ । तीनवटै भेरियन्टले सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने अध्ययनबाट पाइएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।
विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालय र दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा मन्त्रालयले ती नमूना नयाँदिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जेनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी’मा परीक्षणका लागि पठाएको थियो ।
भाइरसको नयाँ उत्परिवर्तनसँगै जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सम्भावित तेस्रो लहरको चुनौतिपूर्ण अवस्थाको तयारी गर्न पनि आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्नको रुपमा अल्फा र डेल्टालाई राखेको छ भने भेरिएन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पालाई राखेको छ । भेरिएन्ट अफ कन्सर्नलाई संक्रामक भाइरस मानिन्छ ।