News राजनीति

ओली समक्ष कठिन प्रश्नः राष्ट्रपति पनि गुमाउने कि नेपालसँग सम्मानजनक एकता गर्ने ?

ओली समक्ष कठिन प्रश्नः राष्ट्रपति पनि गुमाउने कि नेपालसँग सम्मानजनक एकता गर्ने ?

संसद्को दुईतिहाइसहित इतिहासको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री मानिएका केपी शर्मा ओली अहिले ‘राष्ट्रपति पनि गुमाउने कि वरिष्ठ नेता माधवकुमार नेपालसँग सम्मानजनक एकता गर्ने ?’ भन्ने अवस्थामा आईपुगेका छन् ।

ओलीको आफ्नै ब्यवहारका कारण तीन वर्षअघि बनेको दल खण्डित भयो। त्यसपछि उनले आफ्नै साबिकको दल नेकपा एमालेलाई पनि एकीकृत राख्न सकेनन्। जसका नतिजा संसद्मा सामान्य बहुमत पनि गुमाए। संसद् विघटनको आदेशदेखि ओलीले ल्याएका एकपछि अर्को अध्यादेशहरूलाई असंवैधानिक भन्दै सिलसिलेबार रूपमा खारेज गर्दै आएको सर्वोच्च अदालतले अन्ततः उनलाई नै असंवैधानिक भनेर सत्ताच्युत गर्यो ।

यसरी आफ्नै दललाई खण्डित गरेका, संसद्को विश्वास विधिवत् रूपमा गुमाएका र संवैधानिक नैतिकता सर्वस्व पारेका प्रधानमन्त्री ओली मूलतः निकै कमजोर भइसकेका छन् । स्वभाविक रुपमा सत्ताबाट हटेपछि शक्ति घट्छ र शक्ति घटेपछि आफ्ना भनिएकाले पनि धमाधम छाड्छन् भन्ने ओलीकै सन्दर्भमा मिलेको ।

उनले मन्त्री बनाएका र आफनै गोजिका भनिएकाहरुले पनि उनको साथ छोडेर माधव गुटमा लागेपछि ओलीको अवस्था अत्यन्तै कमजोर भएको छ । माधव नेपाल समुह सरकारमा जाने पक्का भए अझै पनि कतिपय सांसदहरु खुट्टा उचालेर बसिरहेको चर्चा छ। 

मुलतः उनीहरु बार्गेनिङ्गमा छन् । यसरी गुट नै त्याग्ने प्रस्ताव लिएर बढेकाहरु शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाए माधव नेपाल गुटमा जाने तयारी छ । यस वाहेक ओली भन्दा माधव नेपाल ठिक भन्नेहरुको संख्या पनि थपिदै गएको छ ।

यति मात्र होईन, एउटासँगको रिस मार्न अर्कालाई बोक्ने र आफुखुसी निर्णय गरेर अरुमाथि लाद्ने प्रवृत्तिका कारण अन्ततः आफ्नाहरु नै ओलीसँग रिसाएका छन् । यहि समयमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउने तयारी भईरहेको छ । विपक्षी गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षधरले रेकर्डको लाग भएपनि महाभियोगको लगाउनु पर्ने विषयमा छलफल भईरहेको जनाइन्छ। 

राष्ट्रपति भण्डारी विरुद्ध महाभियोग लगाउनुपर्नेमा काँग्रेसको रामचन्द्र पौडेल पक्षले बढी जोड दिइरहेको छ । माओवादी केन्द्र पनि त्यसमा तयार देखिएको छ । नेकपा एमालेको माधव नेपाल पक्षसहितले त्यसको तयारी गर्ने हो भने राष्ट्रपतिवाट भण्डारीले विदा हुनु पर्ने अवस्था आउन सक्ने राजनीतिक विश्लेषकहरु वताउँछन् । तर, ओलीले नेता नेपालसँग एकता गरे राष्ट्रपतिको पद त सुरक्षित हुन्छ नै गुट–उपगुटमा विभाजन भएको एमालेलाई एक ढिक्का वनाउने मौका पनि हुन सक्ने उनीहरुको मत छ।

संविधानको धारा १०१ मा महाभियोगबारे उल्लेख छ । धारा १०१ को उपधारा १ मा संविधान र कानूनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले राष्ट्रपति वा उपराष्ट्रपति विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्ने उल्लेख छ । तर, त्यस्तो प्रस्ताव संघीय संसदको दुवै सदनको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित भएमा पदबाट मुक्त हुने व्यवस्था छ ।

केपी शर्मा ओली माधवकुमार नेपाल विद्यादेवी भण्डारी महाभियोग

विशेष