यौन दुर्व्यवहारको मुद्दामा पुर्व सभामुख महरालाई सफाई
यौन दुर्व्यवहारको आरोप लागेर पुर्पक्षका लागि कारागार चलान भएका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट सफाई पाएका छन् । संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुब्र्यवहार गरेको आरोपमा उनीमाथि मुद्दा चलेको थियो ।
जर्बजस्ती करणी उद्योग मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले मंगलबार उनलाई सफाई दिएको हो । उच्च अदालतले काठमाडौं जिल्ला अदालतको सुरु फैसलालाई सदर गरेको हो। न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरालाई सफाइ दिने काठमाडौं जिल्ला अदालतको निर्णयलाई सदर गरेको अदालतकी प्रवक्ता अमृता कुमारी शर्माले जानकारी दिइन्।
महरा सभामुख रहेका बेला संसद सचिवालयमा काम गर्ने एक महिला कर्मचारीले आफूमाथि जर्बजस्ती करणीको प्रयास गरेको भन्दै मुद्दा दायर गरेकी थिइन्। आरोप लागेपछि महराले ०७६ असोज १४ गते पदबाट राजीनामा दिएका थिए ।
दशैँको ठिक अगाडि संसद् सचिवालयमै कार्यरत महिला कर्मचारीलाई डेरामा गएर बलात्कार प्रयास गरेको अभियोग लागेपछि पुर्पक्षका लागि थुनामा राखिएका महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो ।
कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले निर्दोष रहेको फैसला सुनाएको थियो। असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराले आफ्नो कोठामा आएर बलात्कार गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट गरेको गम्भीर आरोप लगाएकी थिइन्।
तर महराले आफ्नो सचिवालयमार्फत् उनले लगाएका आरोपहरूको खण्डन गरेका थिए।
तत्कालीन नेकपा माओवादीबाट दाङ क्षेत्र नं २ बाट संसदीय निर्वाचन जितेका महरा तत्कालीन नेकपा एमाले र माओवादीको समर्थनमा सभामुख बनेका थिए।
कृष्णबहादुर महरा यौन दुर्व्यवहार