News स्वास्थ्य

विरगञ्जमा लक्षित समुहले खोप पाएनन्, जनप्रतिनिधिका आफन्तलाई फालाफाल

विरगञ्जमा लक्षित समुहले खोप पाएनन्, जनप्रतिनिधिका आफन्तलाई फालाफाल

कोरोना विरुद्धको खोप सरकारको मापदण्ड विपरित पहुँचवालालाई लगाईएको र दुरुपयोग गरिएको गुनासो वढिरहेका वेला वीरगञ्ज महानगरपालिकामा यस्तै घट्ना दोहोरिएको छ।

लक्षित समूहको लागि ल्याइएको कोरोनाविरुद्धको खोप जनप्रतिनिधिहरुकै दवावमा अन्य व्यक्तिहरुलाई लगाइएको पाइएको छ। महानगरपालिकाका विभिन्न वडाहरुमा साउन ११ र १२ गते गरी दुई चरणमा खोप लगाईएको थियो ।

महानगरपालिकाले नै सूचना जारी गरेर ५० वर्षदेखि ५४ वर्ष उमेर समूह, ‘क’ र ‘ख’ वर्गका पूर्ण र अति अशक्त अपाङ्ता भएका व्यक्ति, स्वास्थ्यकर्मी, सरसफाईकर्मीलाई खोप लगाईएको थियो । खोपका लागि महानगरको ३२ वटै वडाहरुको स्वास्थ्य चौकीमै खोप लगाउने व्यवस्था गरिएको थियो।

तर, महानगरका अधिकांश वडाहरुमा लक्षित समूह बाहेकका व्यक्तिहरु वडाध्यक्षका आसेपासे, नातागोताका व्यक्ति, स्वास्थ्य चौकीका ईञ्चार्जहरुको चिनेजानेकाले समेत लगाएका छन्। उनीहरुले खोप लगाएको कार्डसहितको फोटो सामाजिक संजालामा राखेपछि लक्षित समूह बाहेकका व्यक्तिहरु रहेको पुष्टि समेत भएको छ।

लक्षित समूहमा पर्ने महानगरका अधिकांश स्थानीयहरुले भने खोप केन्द्रमा धाउँदासमेत खोप लगाउन नपाएको गुनासो गरिरहेका छन् । वडा नम्बर ३० लालपर्सा टोलमा त्यहाँ रहेको स्वास्थ्य चौकीका ईञ्चार्ज र वडाध्यक्षको मिलेमतोमा लक्षित समूहको लागि आएको कोरोनाविरुद्धको खोप अन्य व्यक्तिहरुलाई लगाइएको छ। 

वडा नम्बर ३० लालपर्सा टोलमै दुई दिनमै २ सय २३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य चौकी लालपर्साका ईञ्चार्ज मेवालाल ठाकुरले बताए। उनले पनि लक्षित समूह बाहेकलाई पनि खोप लगाइएको स्वीकार गरे। सबैको लागि खोप ल्याइएको भएपनि भीडभाडका कारण र वडाध्यक्षले भनेअनुसार खोप लगाएको उनले बताए।

वीरगञ्ज महानगरको स्वास्थ्य महाशाखाका प्रमुख अरुण महतोले लक्षित समूह बाहेक अन्य व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप दिइएको विषयमा आफूले स्वास्थ्य चौकीका इञ्चार्जसित कुराकानी गर्ने वताए। आफूले महानगरले खोप वितरणमा सहजिकरण मात्रै गरेको  हुँदा यसबारे थप बुझ्न खोप समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्नुपर्ने बताए। 

वीरगञ्ज महानगरपालिका कोरोना विरुद्धको खोप पहुँचवाला मापदण्ड विपरित लक्षित समूह

विशेष