News राजनीति

माओबादीमै फर्कने तयारीमा एमालेका चार नेता !

माओबादीमै फर्कने तयारीमा एमालेका चार नेता !

सर्वोच्च अदालतको फैसला अनुसार ब्युतिएको नेकपा (माओवादी केन्द्र)बाट नेकपा एमालेमा प्रवेश गरेका चार नेताले माओवादीमै फर्कने संकेत गरेका छन् । 

नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै वुधवार अदालतमा रिट निवेदन दर्ता गराएका छन्। अदालतमार्फत सांसद पद फिर्ता भए माओबादी केन्द्रमै फर्कने उनीहरुको तयारी छ।!

उनीहरुले दल त्याग गरेको आधारमा आफ्नो सांसद पद रिक्त गरिएको नभई दल त्यागको आरोप लगाई दलबाट निष्काशन गरिएको उल्लेख गरेका छन्। आफुहरु एमाले प्रवेश नगरेको र माओवादी केन्द्रकै नेता रहेको उनीहरुको दावीको छ।

संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषण तथा परमादेशलगायत अन्य उपयुक्त आदेश जारी गरी सांसद पद पुनर्बहालीका लागि उनीहरुले माग गरेका छन् । उनीहरुले नेकपा (माओवादी केन्द्र), निर्वाचन आयोग, सङ्घीय संसद् सचिवालय, माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विपक्ष बनाई रिट दायर गरेका छन्।

रिट निवेदनमा आफूहरु २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा संविधानको धारा ८४ (१) को (क) बमोजिम निर्वाचित भएको र संविधानको धारा ८५ वमोजिम निर्वाचित भएको मितिले पाँच वर्षसम्म रहने व्यवस्थाअनुसार आफूहरु सो पदमा रहनुपर्ने माग गरेका छन्।

नेकपा (एमाले)मा उहाँहरु चारै जना प्रवेश गरेपछि माओवादी केन्द्रले सांसद पद मुक्त गरेको थियो । रिट निवेदनमा संविधान र प्रचलित कानूनले निर्धारण गरेको आधार बिना नै सांसद पद रिक्त गर्न गरिएको निर्णय संवैधानिक र कानूनी व्यवस्था प्रतिकूल रहेको उल्लेख गरिएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ गौरीशङ्कर चौधरी लेखराज भट्ट टोपबहादुर रायमाझी प्रमु साह

विशेष