News

विराटनगरका मेयर मध्यरातमा स्थानीयद्वारा लखेटिए

विराटनगरका मेयर मध्यरातमा स्थानीयद्वारा लखेटिए

कोरोना विरुद्धको खोप दुरुपयोग गरेको आरोपमा विराटनगर महानगरका प्रमुख भीम पराजुली विरुद्ध विरोध प्रदर्शन भएको छ। आफना कार्यकर्तालाई मध्यरातमा घरैमै लगेर खोप लगाइदिएको विरोधमा विराटनगरमा बिहीबार प्रदर्शन भएको छ।

‘हाम्रो खोप खै ?’ लेखिएको प्लेकार्डसहित जम्मा भएका सर्वसाधारणले महानगर कार्यालय परिसरमा प्रदर्शन गरे। कोरोनाविरूद्धको खोप हरेक नागरिकको नैसर्गिक हक भएको बताएका उनीहरुले मेयर भीम पराजुलीले महानगरबासीविरुद्ध विभेदपूर्ण काम गरेको आरोप लगाएका छन् ।

बुधबार राति कोरोनाविरूद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर स्थानीयबाट लखेटिएका थिए। विराटनगर–५ मा आफ्ना समर्थक र कांग्रेस कार्याकर्तालाई खोप लगाउँदै गरेको थाहा पाएपछि स्थानीयले मेयर पराजुलीलाई लखेटेको स्थानीयहरु वताउँछन्।

मेयर पराजुली बुधबार राति करिब ९ बजे खोपसहित विराटनगर–५ निवासी कांग्रेस बुथ समितिका सभापति विमलराज भण्डारीको घरमा पुगेर खोप लगाउन थालेका थिए। खोपको लागि कांग्रेसका पनि आफूनिकट कार्यकर्तालाई मात्र खबर गरिएको थियो।

गुपचुप रुपमा निकटलाई मात्र खोप दिएको सूचनापछि सो क्षेत्रको ठूलो भिड जम्मा भएको थियो। आक्रोशित स्थानीयले मेयर पराजुलीसँग आएका एक व्यक्तिलाई हातपात गरे भने पराजुलीलाई लखेटेका थिए।

स्थानीयको विरोधपछि मेयर पराजुली दौडँदै कांग्रेस नगर उपसभापति प्रवीण जोशीको गाडी चढेर भागेको स्थानीयले बताएका छन्।

मेयर पराजुलीले भने आफू नगएको र कसैलाई खोप नदिएको दाबी गरेका छन्। 

कोरोना विरुद्धको खोप विराटनगर महानगर भीम पराजुली

विशेष