News

नलगाडको डिपिआर निर्माण कार्य अधुरै 

नलगाडको डिपिआर निर्माण कार्य अधुरै 

नलगाड नगरपालिकामा निर्माण हुने भनिएको नलगाड जलविद्युत् आयोजना (४१७) को डिपिआर ६० महिनासम्म पूरा भएको छैन । कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मा प्रगति नहुँदा ढिलाइ हुँदै गएको छ ।
  
आयोजनाको डिपिआरको काम अष्टे«लियन कम्पनी स्मेकले गरिरहेको छ । स्मेकले डिपिआरको काम करीब ८५ प्रतिशत सकिएको र बाँकी १५ प्रतिशत कामका लागि सन् २०२१ को सेप्टेम्बरसम्ममा काम पूरा हुने जनाएको छ । स्मेक, एमडब्लुएच र नेपालको उदय जेभीले संयुक्तरुपमा डिपिआरको काम गरिरहेका छन् । सन् २०१६ मा नै ३१ महिनामा डिपिआरको कामसक्ने गरी नलगाड जलविद्युत् कम्पनी र सम्बद्ध परामर्शदाता कम्पनीबीच सम्झौता गरिएको थियो ।

यसअघि डिपिआरकर्ताको मागअनुसार अगष्ट २०१९ मा पहिलोपटक तीन महिना र अगष्टदेखि मे २०२० सम्म नौ महिना दोस्रोेपटक डिपिआरको समयावधि थप भइसकेको छ । अझै काम नसकिँदा कामको गतिदेखि स्थानीयवासी शङ्का गर्न थालेका छन् ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनालाई क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुङ्गा सावित हुनेरूपमा अघि बढाएको छ । सरकारले उक्त आयोजनाका लागि वैदेशिक लगानी जुटाउन प्रयास गर्दै आएको छ । जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले आयोजनामा लगानी गर्ने इच्छा राख्दै आएको छ । त्यसबारे मन्त्री, सचिव र सहसचिवस्तरमा जाइकासँग पटकपटक छलफल गरिएको थियो ।

डिपिआरको हालसम्मको तयार भएको विवरणअनुसार आयोजना निर्माणमा प्रसारण लाइनबाहेक प्रतिमेगावाट लागत रु ३१ करोड र प्रसारण लाइनसहित रु ३५ करोड खर्च हुने देखिएको छ । जलाशययुक्त आयोजना भएका कारण जलाशय निर्माणमा बढी खर्च हुने भएकाले अन्य आयोजनामा भन्दा लागत बढी लाग्ने देखिएको हो ।

नलगाड–७ दल्लीमा विद्युत्गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल निर्माण हुनेछ । नलगाडस्थित नलगाड खोला र ठूलीभेरीको दोभान दल्लीमा भूमिगत पावर हाउस निर्माण हुनेछ । आयोजनाका लागि बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किमी लामो मुख्य सुरुङ र दुईदेखि तीन किलो मिटरसम्मका तीन सहायक सुरुङ बन्नेछन् ।

यस्तै २४८ मिटर अग्लो बाँध निर्माण हुनेछ । जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुनेछ । आयोजनामा चार टर्वाइन रहने छन् । प्रत्येक टर्वाइनबाट १०४.२५ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट एक वर्षमा एक हजार २३२ मेगावाट (घण्टा) ऊर्जा उत्पादन हुनेछ । 

आयोजनाबाट उत्पादित विद्युत् ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको कोहलपुर सवस्टेशनमा जोडिने छ । नलगाडकै दानीपीपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन निर्माण कार्य जारी छ । नलगाड निर्माणकै लागि भन्दै चार मेगावाटको ताँसुगाड जलविद्युत् आयोजनाको काम गर्नका लागि डिपिआरको काम जारी छ । 

aसाठी महिना पूरा हुँदासम्म आयोजना निर्माणस्थल र बाँधस्थलमा (मेकानिकल टेष्ट)  ढुङ्गाको क्षमता जाँचको काम सकिएको छ । भूमिगत विद्युत् उत्पादन गृहमा ३२० मिटर लामो सुरुङ निर्माण भएको छ भने बाँकी ५५ मिटर खन्न बाँकी छ ।
 
सो कामका लागि भारतलगायत देशबाट मजदूर आउने क्रममा रहेको आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी दिए। आयोजनाको डिपिआरको काम तोकिएको मितिभन्दा ढिला गरेको भन्दै सरकारलाई डिपिआर गर्ने कम्पनीले १० प्रतिशत विलम्ब शुल्क तिर्नुपर्ने नियम छ । 

थापाका अनुसार पाँच महिनाभित्र काम पूरा हुने अपेक्षा लिइएको छ । आयोजनास्थलमा जग्गा अधिग्रहणको काम सकिएको र बाँकी घरको मुआब्जा दिन मात्र बाँकी छ । घरको मुआब्जा दिनका लागि यही आर्थिक वर्षमा त्यो काम शुरु हुने उहाँले बताए। आयोजनास्थलमा ६०० भन्दाबढी घर छन् । विसं २०७६ भदौ २७ गतेदेखि हालसम्म निर्माण हुँदै गरेका घरको मुआब्जा आयोजनाले नदिने निर्णय भएको छ ।
 
कालीमाटीदेखि आयोजनास्थलसम्म पुलबाहेक सडक निर्माण कार्य पूरा भएको छ । पुस मसान्तसम्म पुलको कामसक्ने ठेकेदार कम्पनीले जनाएको छ । आयोजनाको विद्युत् उत्पादनगृहदेखि काँडादल्लीसम्मको बाटो निर्माणका लागि प्रदेश वा आयोजना कसले बाटो बनाउने भन्नेमा सल्लाह भइरहेको छ । सर्वेको काम पूरा भएका कारण सडक निर्माणका लागि बोलपत्र खोल्ने काम मात्र बाँकी छ । रासस

विशेष