News

काम नगर्ने ठेकेदारलाई पटक–पटक म्याद थप, कहिले वन्छ काठमाण्डौं भ्यूटावर ?

काम नगर्ने ठेकेदारलाई पटक–पटक म्याद थप, कहिले वन्छ काठमाण्डौं भ्यूटावर ?

काठमाण्डौंको पुरानो वसपार्कमा निर्माणाधिन ‘काठमाडौं भ्यूटावर’को निर्माण कार्य कछुवा गतिमा चलिरहेको छ। पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नु पर्ने भएपनि सम्झौता भएको ७ वर्ष बित्न लाग्दा पनि सन्तोस जनक काम हुन सकेको छैन ।

काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोइ विल्डर्स प्रालिबीच २०७१ फागुन २२ गते ५ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, ठेकेदार कम्पनीको लापारबाहीका कारण टावर निर्माणले गति लिन नसकेको हो ।

भ्यूटावरको काम समयमा नभएपछि सुरुवातमै काठमाडौं महानगरपालिकाले ठेकेदार परिवर्तन गर्न खोजेको थियो । जलेश्वर स्वच्छन्द बिकोइले २०७१ फागुन २२ मा सम्झौता भएर २०७२ साउनबाट निर्माणको लागि कार्यआदेश पाएको थियो।

जलेश्वर स्वच्छन्द विकोइ कम्पनीले जिम्मा लिएको भ्यू टावर निर्माणको अवधि एक वर्षमात्रै रहेकै वेला महानगरले स्वतन्त्र कन्सल्टेन्सी हायर गरेर ठेकेदार हटाउने र काम अगाडि बढाउने तयारी गरेको थियो । समयमा काम सम्पन्न गर्ने सम्भावना कम देखिएको र ठेकेदार मनोज भेटवाल कालोसूचीमा परेपछि महानगरको प्रशासनले यो तयारी गरेको थियो । तर महानगरपालिकाका मेयर विद्यासुन्दर साक्यले ठकेदार परिवर्तन गर्ने विषयमा सहमति दिएनन् । 

मेयर शाक्यसँग राम्रो मित्रता कायम गरेका भेटवाल महानगरका केही कर्मचारीका लागि खर्च गर्न पनि तयार रहन्छन् । जसका कारण उनले पटक–पटक गरेर काठमाडौं भ्यू टावर बनाउने म्याद २०७८ सम्म थप गराएका छन्।

सम्झौता अनुसार काम नगर्ने ठकेदारलाई कारवाही गर्नुको सट्टा पटक–पटक म्याद थप गर्नु र ठेकेदार परिवर्तन खोज्दा समेत सहमति नदिनुले मेयर साक्य माथि नै प्रश्न चिन्ह खडा भएको छ। स्रोतका अनुसार, भेटवालले आकाशे पुलबाट महानगरपालिकासँग साइनो जोडेका थिए । जमल, रत्नपार्क, भद्रकाली, सुन्धारा, गोंगबु, कलंकी, न्युरोडलगायतका स्थानमा सटरसहितको १० वटा आकाशेपुल बनाउन महानगरले भेटवालको कम्पनी इन्नोभेटिभ कन्सेप्ट नेपाल प्रालिलाई जिम्मा दिएको थियो ।

भेटवाललाई विज्ञापन र सटर राख्ने गरी सस्तो दरमा आकाशेपुल बनाउने ठेका दिलाउन महानगरका केही कर्मचारीले भूमिका खेलेका थिए । अहिले सडक विस्तारका क्रममा कलंकीको पुल भत्किए पनि अन्य ९ वटा पुलबाट भेटवालले वार्षिक पाँच करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्छन् । त्यसबाट महानगरलाई वर्षमा २० लाख रुपैयाँ कर तिर्छन् । भेटवालले महानगरका केहि कर्मचारीलाई भने दिल खोलेर खर्च गर्ने गरेको वताईन्छ।

त्यसपछि उनले पुरानो बसपार्कको २३ रोपनी जग्गामा २९ तले टावर बनाउने र महानगरका कर्मचारीहरुलाई त्यसको सेयर दिने भन्दै उनले महानगरसँग साइनो मजबुत बनाए । भ्यूटावरको ठेक्का पनि उनले महानगरमा रुद्रसिंह तामाङ्ग हँदा उनले जालझेल गरेरै हात पारेको बताइन्छ। तर तामाङ्गले भने मिलेमतोको विषयलाई अस्विकार गरेका छन् ।

अहिले पनि महानगर भेटवाल प्रति उदार नै छ। भेटवालले सम्झौता मिचेर एकतर्फी लाभका काम गरिरहँदा अहिले पनि महानगरको ‘आशिर्वाद’ कायमै छ । 

यो पनि

टाट पल्टिए काठमाण्डौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल !

‘डन ठेकेदार’ भेटवालसँग प्रहरीको अस्वभाविक सेटिङ्ग

काठमाण्डौ भ्यु टावर निर्माणमा जथाभावी खन्दा आसपासका वस्ती धरापमा

प्रहरी र नेता सबैलाइ किनेको दाबी गर्छन भेटवाल !

अव काठमाण्डौंमा यि ब्यक्तिका कारण ट्राफिक जाम वढ्ने, महानगरको सम्पत्तिमा भेटवालको रजाई

अनियमितताको रिपोटिङ्ग गर्ने सञ्चारकर्मीमाथि भौतिक आक्रमण, सञ्चार उपकरण तोडफोड

मनोज भेटवाल सम्झौता काठमाडौं भ्यूटावर जलेश्वर स्वच्छन्द बिकोइ विल्डर्स प्रालि आशिर्वाद

विशेष