News

ओलीको प्रश्न– आफ्नो सरकार ढालेर अरुको सरकार बनाउन हिँड्नेको हैसियत के हो?

ओलीको प्रश्न– आफ्नो सरकार ढालेर अरुको सरकार बनाउन हिँड्नेको हैसियत के हो?

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई इंगित गर्दै ‘आफ्नो सरकार ढालेर प्रतिपक्षी मोर्चाको सरकार बनाउन हिँडेकाहरुको हैसियत के हो?’ भन्दै प्रश्न गरेका छन् ।

उनले अब माधव नेपाल समूहलाई पर्खेर बस्न नसकिने पनि वताए । बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा शनिवार बोल्दै प्रधानमन्त्री ओलीले यस्तो वताएका हुन ।

‘जेठ २ को केन्द्रीय कमिटी जहाँ, केपी ओली, उपाध्यक्ष बामदेव गौतमलगायत नेताहरू हुनुहुन्छ, त्यही हो। उहाँहरु विपक्षी गठबन्धनमा लागेर आउँदै आउनुहुन्न’ उनले भने–‘हामीले मौका दिएकै हो। अझै मौका दिने हो। आफ्नो सरकार ढालेर प्रतिपक्षी मोर्चाको सरकार बनाउन हिँडेकाहरुको हैसियत के हो?’

पटक–पटक मौका दिएपनि नमानेपछि अब पार्टीका सांगठनिक र वैचारिक क्रियाकलाप नरोकिने ओलीको भनाइ छ। पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किँदा पनि नेपाल पक्ष नआएको ओलीले दावी गरे ।

नेपाल पक्षले जति गर्दा पनि नमानेको दावी उनको छ। ‘पार्टी अब कसैलाई पर्खेर बस्दैन। वैचारिक र सांगठनिक क्रियाकलाप रोकिन्न। हामी जेठ २ मा फर्केपछि आउनु पर्दैन? कारवाही फुकुवा गर्दा आउनु पर्दैन? जति गर्दा पनि मान्नुहुन्न।’

नेता नेपालसँग भएको फोन संवादबारे पनि ओलीले वैठकलाई जानकारी गराए । ‘अघि माधवजीसँग कुरो भयो। मलाई बैठक रोक्नुस् भन्नुभयो। मैले अदालतको हस्ताक्षर फिर्ता लिनुस् भनेँ। उहाँले अदालतको कुरोले के असर गर्छ र भन्नु भो।’

माधव नेपाल समूहले एमालेलाई क्षतविच्छेद बनाएको ओलीले आरोप लगाए। विपक्षी गठबन्धन सरकार ढाल्नका लागि बनेको उनको भनाइ थियो। ‘विपक्षी मोर्चा के कोभिड नियन्त्रण गर्न, बाढी पहिरो महामारी नियन्त्रण गर्न बनाएको हो र? होइन नि। त्यो त सरकारको सफलता देख्न नसकेर ढाल्नका लागि बनाएका हुन्।’
 

केपी शर्मा ओली

विशेष