'म एमाले हुँ' भन्दै शहिद परिवारसँग भोट मागेर देखाउन नेता रोकायाको चुनौती (भिडियो)
सुनिल धामी
गत असार २३ गते नेकपा माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै माओवादी छाडेर एमालेमा गएका नेताहरूले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
उनिहरुले संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजी गरिपाऊँ भनेर निवेदन पेश गरेका थिए । तर निर्वाचन आयोगले उनिहरुको निवेदनलाई नै खारेज गरेको थियो ।
पुनः साउन १३ गते तिनै चारनेताले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरु एमालेमा प्रवेश नगरेको भन्दै सांसद पदमा पुनर्बहालीको गरेकाछन् ।
यसबीच तिनै नेताहरु ‘बेहाल भइयो माओवादीमै फर्कन्छौँ’ भन्दै धेरैपटक खुमलटारमा खबर पुर्याएको समेत सार्वजनिक भएकोछ । तर, प्रचण्डले कानमा कपास राखेजस्तै गरेको बताइन्छ । संकटमा लात मार्नेहरुलाई फुलमाला लगाएर माओवादीमा स्वागत गर्न प्रचण्ड तयार नभएको जानकारहरु बताउँछन् । बरु दोस्रो तहका नेताबाट हैरान प्रचण्डले पार्टीमा युवाका लागि ढोका खोल्ने निर्णय गरिसकेको बताइन्छ ।
माओवादी केन्द्र परित्याग गर्दा घर न घाटका भएपछि अदालत पुगेका पुर्व माओवादी नेताहरुलाई पार्टी कुनै पनि हालतमा फर्काउन नहुने कार्यकर्ताको अडान छ ।
माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य रामचन्द्र रोकायाले माओवादी छोडेर एमाले प्रवेश गरेका नेताहरुलाई पार्टीमा स्थान दिए गलत राजनितिक संस्कार स्थापित हुने प्रतिक्रिया दिएकाछन् । नेपाल आजसँगको संवादमा रोकायाले बिहिबार यस्तो प्रतिक्रिया दिएकाहुन् ।
असार २३ गते नेकपा माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै माओवादी छाडेर एमालेमा गएका नेताहरूले निर्वाचन आयोगमा निवेदन दिएका पुर्व माओवादी नेताहरुले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुमा मानसिक सन्तुलन ठिक नहुनुको पराकाष्ठा भएको रोकायाको तर्क छ ।
उनि भन्छन्, ‘उनिहरुले मानसिक सन्तुलन गुमाईसके । कहिले पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा जान्छन । कहिले फेरी माओवादी बनाईदिनुस् भनेर सर्वाेच्चमा जान्छन् । अवसरवादीहरुलाई कुनैपनि हालतमा पार्टीमा फर्काउन हुदैन । माओवादीमा पुनःस्थान गरे गलत राजनितिक संस्कारको विकास हुन्छ । वैचारिक रुपमा अलग भएकाहरुसँग एकता गर्न अवस्था हुनसक्छ तर अवसरका लागि प्रतिगमनका मतियार भएकालाई नेता मान्न सकिदैन ।’
नेता रोकायाले एमाले प्रवेश गरेका माओवादी नेताहरुले एमाले हुँ भनेर भोट मागेर देखाउन चुनौती समेत दिएकाछन् । उनि भन्छन्, ‘लेखराज भटट्लाई सुदूरपश्चिममा धेरै जनताले विश्वास गरेका थिए । के अब भट्टले शहिद परिवार, अपांग र जनमुक्ति सेनाका परिवारसँग म एमाले हुँ भनेर भोट माग्न जान्छन्? प्रतिगमन रोजेका पुर्व माओवादी नेताहरुले जनविश्वास पनि गुमाइसकेका छन् । अब फेरि जनताबाट अनुमोदन हुन सहज छैन् । माओवादी नै छैन भन्दै कुर्लदा सहीद तथा वेपत्ता परिवारको मन मुटुमा तिखो छुरा रोपिएको छ ।’