माधवले भाउ नदिएपछि ओलीले भिम रावललाई वोलाए वालुवाटार
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भेट्न अस्विकार गरेपछि उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री ओलीले वोलाकै कारण उनी बालुवाटार पुगेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार माधव पक्षका भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताले रावलसँग वार्ता गर्न बालुवाटारलाई सुझाव दिएका थिए । माधव नेपाललाई सबैभन्दा बढी प्रभाव पार्न सक्ने नेता रावल भएकाले उनलाई वार्तामा डाक्न सुझाव दिइएको हो ।
एमाले केन्द्रीय समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधव पक्षका सांसदलाई दुई दिनको अल्टिमेटम दिएको थियो ।
अल्टिमेटम सोमवार सकिने भएकाले त्यसअघि दुई पक्षबीच सहमति जुटाउन प्रयास भएको हो । सहमतिका लागि दोस्रो तहका नेता सक्रिय छन् ।
यसअघि एमाले उपमहासचिव तथा उपप्रधानमन्त्री विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री ओलीसँग भेट गर्न आग्रह गरेका थिए । तर, नेता नेपालले अध्यक्ष ओलीसंग भेट्न अस्वीकार गरेको पौडेलले वताए।
ओलीका विश्वासपात्र नेता पौडेलले बिहान नेता नेपाललाई भेटेका थिए। भेटमा प्रधानमन्त्रीसंग भेटेर समस्याको समाधान खोज्न आफूले गरेको आग्रहमा नेता नेपालले रुची नदेखाएको उनले दाबी गरे।
‘माधव कमरेडकोमा गएका थियौँ । म,सुवासजी र शंकरजी भएर । उहाँसंग एकछिन कुराकानी भयो । हामीले के आग्रह गर्यौँ भने, पार्टीलाई एकतावद्ध लिएर जाऊँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरु छैनन् । तपाईंहरु एक आपसमा बस्नुहोस’,उनेले भने।
नेता नेपाल सहमत नभएपछि आफूहरु त्यसै फर्किएको उनले बताएका थिए ।
माधवकुमार नेपाल केपी शर्मा ओली भीम रावल