News कभर स्टोरी

विद्यालय भवन निर्माणमा चरम लापरबाही, प्रधानाध्यापकको बदनियतले ४ कोठे भवन अलपत्र पर्दै

विद्यालय भवन निर्माणमा चरम लापरबाही, प्रधानाध्यापकको बदनियतले ४ कोठे भवन अलपत्र पर्दै

बझाङको छविस पाथिभेरा ०७ स्थित मजखोरी माविको ४ कोठे भवन निर्माणाधिन अवस्था मै अलपत्र पर्ने आकलन गरिएको छ । गत आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट ४२ लाख रकम विनियोजन भैइ निर्माणाधिन अवस्थामा रहेको विद्यालय भवन आर्थिक वर्ष समापन हुनै लाग्दा समेत निर्माण सम्पन्न नहुँदा अलपत्र पर्ने देखिएको छ । 


विद्यालय निर्माण सम्पन्न गरेको प्रतिवेदन असार २२ गते सम्म सामाजिक विकास मन्त्रालय अन्तर्गतको योजना अनुगमन कार्यालय बझाङमा पेश गर्नु पर्नेमा अझै २० प्रतिशत काम गर्नै बाँकी रहेको बताईएको छ । प्रतिवेदन पेश गर्न समय २ दिन मात्रै बाँकी रहेको छ । निर्माण सम्पन्न नहुँदा विद्यालय भवनको लागि विनियोजन भएको बजेट फिर्ता जाने भएको छ । रकम फिर्ता जाने भएपछि विद्यालयका फर्निचर, झ्याल, ढोका र पलास्तर हुने अवस्था छैन । 


विद्यालयको चार कोठे भवनका लागि प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले ४२ लाख बजेट विनियोजन गरेको थियो । भवन निर्माण सम्पन्न नभएपछि सामाजिक विकास मन्त्रालय अन्तर्गतको योजना अनुगमन कार्यालय बझाङले पुरा रकम भुक्तानी गर्न नसकिने जानकारी दिएको छ । कार्यालयका प्रमुख बिर बहादुर धामीका अनुसार भवनको प्रगती विवरण अनुसार मुल्याकंन गरेर भुक्तानी गरिने छ । उनि भन्छन्, ‘असार २२ गतेसम्म जति काम हुन्छ सोही अनुसारको मुल्याकंन गरेर भुक्तानी दिन्छौँ । बाँकी रकम सरकारको कोषमै फिर्ता जान्छ ।’


प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले भवन निर्माणमा दतारुकता नदेखाएकाले भवन अलपत्र पर्न लागेको अनुगमन कार्यालय प्रमुख धामीले स्विकार गरे । उनि भन्छन्, ‘भवन निर्माणका लागि सम्झौता गर्न पनि धेरै पटक ताकेता गर्नु पर्याे । निकै ढिला गरेर निर्माणका लागि सम्झौता भयो । साथै विद्यालय भवन निर्माण कार्यबीचमा अवरुद्ध पनि भएकाले यो अवस्था सिर्जना भएको हो ।’


स्थानियले भवन निर्माण गर्न ठेक्का कसलाई दिने भन्नेबारेमा विवाद भएकाले सम्झौता गर्न ढिलासुस्ती भएको बताएकाछन् । प्रधानाध्यापक बोहरा र विद्यालय व्यवस्थापन समितिले मिलेमतोमा चाहेको मान्छेलाई ठेक्का दिन खोजेपछि विवादहुँदा सम्झौता समयमै नभएको स्थानियको भनाई छ । ‘प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको योजना आफ्नो नजिकको मान्छेलाई ठेक्का दिएर रकम कुम्ल्याउने थियो । त्यहि रणनिति अनुसार वातावरण मिलाउन प्रधानाध्यापक लागि परे अन्तमा तिनैले रोजेको मान्छेलाई ठेक्का परेपछि सम्झौता भएको हो । प्रधानाध्यापकको बदनियतपुर्ण नियतले अहिले भवन अलपत्र पारेरै छोडे ।’ एकजना स्थानियले नाम नखुलाउने शर्तमा भने ।

 

भवन निर्माणमा संलग्न कामदारलाई ज्याला नदिएपछि काम बन्द भएकाले पनि भवन निर्माण सम्पन्न नभएको वडाध्यक्ष पदम मण्डेल बताउँछन् । उनि भन्छन्, ‘प्रधानाध्यापक र समितिले पहिलो किस्ताको बजेट झिकेर ल्याइसक्दा पनि कामदारलाई दिएनन् । अनि कामदारले काम गर्न नमानेपछि भवन निर्माण कार्य पनि बन्द भयो ।’

यता अनुगमन कार्यालयका प्रमुख बिर बहादुर धामीले समय अभावका कारण अब अनुगमनमा जान नसकिने प्रतिक्रिया दिएकाछन् । नेपाल आजसँग कुरा गर्दै उनले भने, 'हामी अन्तिम पटक जेठ ३१ गते अनुगमनमा गएका थियौँ । अब जान समय पनि छैन । वडाको सिफारिस र विद्यालयले पेश गरेको फोटोको आधारमा भुक्तानी दिने हो । फोटोमा जति काम भएको देखिन्छ त्यति नै अनुसार भुक्तानी दिन्छौँ ।’

 

विद्यालयको भवन निर्माण सम्पन्न नहुँदै सिफारिस माग्दा नदिएपछि वडाध्यक्षमाथि आक्रमण समेत भएकोछ । विद्यालयको भवन निर्माण गर्ने ठेक्का पाएका स्थानिय ठेकेदार गोग्ने बोहराले वडाध्यक्ष पदम मण्डेलमाथि हातपात गरेकाछन् । शनिबार वडानं ७ कै मजखोरीमा वडाध्यक्ष मण्डेलमाथि बोहरा जाई लागेको हुन् । आक्रमण गर्ने व्यक्ति स्थानिय टोल स्तरका ठेकेदार हुन् । 


विद्यालयको ४ कोठे भवन निर्माण सम्पन्न नहुँदै सम्पन्न भएको सिफारिस माग गरेपछि वडाध्यक्ष मण्डेलले सिफारिस दिएनन । सिफारिस नदिएको भन्दै ठेकेदार बोहरा वडाध्यक्ष मण्डेलमाथि जाई लागे । विद्यालय भवन निर्माणको करिब २० प्रतिशत काम बाँकी नै रहँदा काम सम्पन्न भएको भन्दै सिफारिस मागेपछि नदिएको वडाध्यक्ष मण्डेल बताउँछन् । मण्डेलका अनुसार विद्यालयको फर्निचर, झ्याल्, ढोका, पलास्टर, छत आदि निर्माण गर्न बाँकी नै छ । तर ठेकेदारले अधुरै काम छोडेर ठेक्का सम्पन्न भएको भन्दै सिफारिस माग गरेका थिए । 

यता भवन निर्माणको काम सम्पन्न हुन बाँकी नै रहेको बेला विद्यालयका प्रधानाध्यापक जनक बोहराले भने भवन निर्माण सम्पन्न भएको भन्दै सिफारिस दिन वडाध्यक्ष मण्डेललाई पत्र काटेकाछन् । वडाध्यक्ष मण्डेल भन्छन्, ‘भवन निर्माणको महत्वपुर्ण काम अझै बाँकी नै छ । काम अधुरो नै राखेर पुरा भुक्तानी लिँदै विद्यालय भवन अलपत्र पार्ने नियत दखेको हुनाले मैले सिफारिस दिएन । त्यसै बेला म माथि आक्रमण भयो ।’ 

प्रधानाध्यापकको योजनामा आक्रमण गरियोः वडाध्यक्ष 


वडाध्यक्ष मण्डेलले आफुमाथि आक्रमण गर्न लगाउने योजना प्रधानाध्यापक बोहराको भएको बताएकाछन् । शनिबार विहान प्रधानाध्यापक बोहरा आफै सिफारिस माग गर्न आएको तर आफुले निर्माण सम्पन्न नहुँदै नदिने भनेपछि उनले ठेकेदार बोहरा परिचालन गरि आक्रमण गर्न लगाएको बताए ।

 
प्रधानाध्यापक बोहरा यसअघि विद्यालयको शौचालय निर्माणको विषयमा पनि विवादित बनेका थिए । २२ लाख लागत रकम रहेको शौचालय १८ लाखको भनेका बोहराको सामाजिक सञ्जालमा चर्काे आलोचना भएको थियो । विद्यालयको शौचालय लागत अनुसारको नभएको भन्दै नेपाल आजले समाचार प्रकाशन गरेपछि प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले छानबिन गरी भुक्तानी गर्न ग्रामिण जलस्रोत परियोजना कार्यालयलाई निर्देशन दिएको थिए  । 


प्रधानाध्यापक बोहरा आफै पनि बारम्बार विवादास्पद गतिविधिमा परिरहन्छन् । शिक्षक जस्तो मर्यादित पेशाकर्मी भएपनि विगतमा स्थानियले भक्कुमार गोदेका थिए । हजारौँ विद्यार्थीलाई शिक्षण गर्ने जिम्मेवारी पाएका बोहरा आफैले बहुविवाह गरेकाछन् । बोहरा शिक्षक भैईसकेपछि आफ्नो विद्यार्थी कै उमेर समुहकी एकजना बालीकासँग दोस्रो विवाह गरेको स्रोतले बतायो । ती बालीकाका बुवा जनयुद्धमा शहिद भएका थिए । बोहराले अविभावक गुमाएर असहाय बनेकी ती बालीकाको कमजोरीको फाईदा उठाँउदै बहुविवाह गरेका थिए । स्रोतका अनुसार शिक्षक भैईसकेपछि दोस्रो श्रीमतीको रुपमा भित्र्याईएकी ती बालीकालाई बोहराले बन्धक जस्तै बनाएर राखेकाछन् । 


कानून अनुसार बहुविवाह गर्नु अपराध हो । बहुविवाह गर्ने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था मुलुकी ऐनमा भएपनि शिक्षक बोहरालाई भने यो नियमले छोएको छैन । 
 


यो पनि

भवन निर्माण सम्पन्न नहुँदै सिफारिस माग, सिफारिस नदिएपछि वडाध्यक्षमाथि आक्रमण,

२२ लाखको शौचालयमा जस्ताको छानो,

शौचालय विवादमा प्रशासनको ध्यानकर्षणः सिडिओले झिकाए कागजपत्र,

२२ लाखको शौचालयका डिजाईनरलाई सिडियोको केरकारः मुल्याङ्कन अनुसार भुक्तानी गर्न निर्देशन

जनक बोहरा पदम मण्डेल

विशेष