News स्वास्थ्य

अमेरिकाबाट एक मात्रा लगाए पुग्ने कोरोना विरुद्धको खोप आउने पक्का

अमेरिकाबाट एक मात्रा लगाए पुग्ने कोरोना विरुद्धको खोप आउने पक्का

संयुक्त राज्य अमेरिकाले नेपाललाई जतिसक्दो छिटो खोप उपलब्ध गराउन नेपाल सरकार र कोभ्याक्ससँग नजिकबाट काम गरिरहेको बताएको छ।

काठमाण्डौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता एना रिची एलनले संयुक्त राज्य अमेरिका नेपाल सरकार र कोभ्याक्ससँग नजिकमा रहेर अमेरिकी खोपहरू नेपालमा चाँडोभन्दा चाँडो प्रयोग गर्न मिल्नेगरी पठाउने उद्देश्यले काम गरिरहेको वताईन।

कानुनी र बन्दोबस्तीका चुनौती सकेसम्म चाँडो सम्बोधन गर्ने प्रयत्न भईरहेको उनको भनाई छ । खोपको परिमाण हालसम्म खुलाइएको छैन। दुई साताअघि सरकारले गठन गरेको विज्ञ समितिका संयोजकले नेपालले ६ लाख जोनसन एन्ड जोनसनको खोप प्राप्त गर्न लागेको जानकारी दिएका थिए ।

बाइडन प्रशासनले नेपालसहित एशिया प्रशान्त क्षेत्रका १७ वटा देश र प्यासिफिक आइल्याण्डलाई दुई करोड ३० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गत जून महिनामा गरेको थियो।

अघिल्लो साता मात्रै अमेरिकाले दक्षिण एशियाका पाकिस्तान र बाङ्लादेशलाई २५/२५ लाख मात्रा खोप उपलब्ध गराएको थियो।

ती दुवै देशलाई मोडेर्नाको खोप दिइएको भए पनि नेपाललाई भने अमेरिकाले एउटा मात्रा मात्रै लगाउँदा हुने जोनसोन एन्ड जोनसनको खोप उपलब्ध गराउन लागेको जनाईएको छ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरू कोभ्याक्स अभियानबाट खोप प्राप्त गर्न विलम्ब भएको उल्लेख गर्दै डब्ल्यूएचओले आपत्कालीन प्रयोगको अनुमति पाएका जुनसुकै खोप जतिबेला पनि नेपालमा भित्र्याउन सम्भव रहेको बताउँछन्।

नेपालले हालसम्म भारत र चीनबाट खरिद गरेको सहित ४२ लाख ४८ हजार मात्रा खोप भित्र्याएको छ। त्यसमध्ये १८ लाख चीनले र ११ लाख भारतले अनुदान दिएका थिए।

भारतबाट खरिद गरिएको २० लाखमध्ये हालसम्म १० लाख खोपमात्रै नेपालले प्राप्त गरेको छ। कोभ्याक्स अभियानले यसअघि नै नेपालले ३ लाख ४८ हजार मात्रा खोप दिएको थियो। चीनसँग खरिद गरिएको ४० लाख खोप लिन नेपालको राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमको विमान बिहीवार चीनतर्फ जाने अधिकारीहरूले जनाएका छन्।

बुधवारसम्ममा भारत र चीनबाट अनुदान तथा खरिद गरिएको खोपका नेपालको जनसंख्याको तीन प्रतिशतभन्दा बढीलाई दुवै मात्रा र नौ प्रतिशतभन्दा बढीलाई पहिलो मात्रा दिइएको छ। मन्त्रालयले २६ लाख ११ हजार ८०७ नेपालीले पहिलो मात्रा खोप र ८ लाख ५१ हजार ३०० नेपालीले दोस्रो मात्रा खोप लगाएको जनाएको छ। 

बीबीसीको सहयोगमा

जोनसोन एन्ड जोनसन कोभ्याक्स अभियान

विशेष