News

६ वर्षदेखि मलेसियामा भएका ब्यक्ति सप्तरीवाट एसईई उत्तिर्ण !

६ वर्षदेखि मलेसियामा भएका ब्यक्ति सप्तरीवाट एसईई उत्तिर्ण !

सरकारले कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मध्येनजर गरी गत चैत ६ गते हुने भनिएको एसईई परीक्षा नलिने निर्णय गर्यो । सम्बन्धित स्कुलहरूले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय भयो।

सोहि अनुसार विद्यालयले आन्तरिक मुल्यांकन गरेर पठाएको कुल ५ लाख १७ हजार विद्यार्थीको नतिजा राष्ट्रिय परीक्षा बोर्डले शनिवार सार्वजनिक गरेको छ। नजिता अनुसार कतिपय विद्यालयले भने प्राप्त अधिकारको दुरुपयोग गरेको पाईएको छ ।

सप्तरीको सप्तकोशी नगरपालिका १०, भगनी मलेठ स्थित जनता माद्यमिक विद्यालयले ६ वर्षदेखि विदेशमा रहेका युवकलाई समेत एसईई उत्तिर्ण गराएको पाईएको छ । सप्तकोशी नगरपालिका १० कै २६ वर्षिय गोपाल प्रसाद सन्त ६ वर्षदेखि वैदेशिक रोजगारीका लागि मलेसियाको जोहरमा छन् । तर, विद्यालयले उनलाई एसईई परिक्षा पास गराएको पाईएको छ । 

गोपालका पिता राम सन्त सोहि विद्यालयका कार्यालय सहयोगी हुन। उनले विद्यालयका प्रधानाध्यापक श्याम चौधरीसँगको मिलेमतोमा परिक्षा फर्म भराएको पाईएको छ । गोपाल सन्त स्वयम्ले पनि आफु विगत ६ वर्षदेखि मलेसियमा रहेको वताउँदै सोहि क्रममा एसईई पास गरेको स्विकारेका छन् ।

विद्यालयका प्रधानाध्याक श्याम चौधरीले भने विदेशमा भएर पनि कुन विद्यार्थीले परिक्षा पास गर्यो भन्ने विषय नै आफुलाई जानकारी नभएको जनाएका छन् । उनले गोपाल प्रसाद सन्त र उनका पिता राम सन्तलाई आफुले नचिनेको पनि उनले दावी गरे । आफै विद्यालयमा कार्यलय सहयोगी रहेका राम सन्तलाई चिन्दिन भन्नुले चौधरीले सवै कुरा जानकारी भएर लुकाउन खोजेको स्पष्ट हुन्छ ।

‘हामीले परिक्षा लिएको होईन, आन्तरिक मुल्यांकन गरेको हो। को विद्यार्थी घरमा छ, को विदेशमा छ कसरी छुट्याउने ?’–उनले उल्टै प्रश्न गरे । परिक्षा फर्म भरेकाले सोहि आधारमा आफुहरुले नम्वर दिएर पठाएको उनको दावी छ । 

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राधे खड्गाले भने यो विषयमा आफुलाई कुनै जानकारी नभएको वताए ।

यति मात्र होईन, सप्तरीका अधिकांश विद्यालयले आन्तरिक मूल्यांकनका नाममा राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ को उलंघन गरेको पाईएको छ । कार्याविधिमा विद्यार्थीको परीक्षाको अन्तिम मूल्यांकन गर्न सम्बन्धित विद्यालयको प्रधानाध्यापक अध्यक्ष रहनेगरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था छ।

सैद्धान्तिक मूल्यांकनको लागि माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार विद्यालयहरुले लिएका परीक्षाहरुमध्ये अधिकतम पाठ्यक्रम समावेश हुनेगरी पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णांक अन्तरगत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने व्यवस्था उल्लेख छ।

प्रयोगात्मक मूल्यांकनअनुसार प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यसअगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाएको विवरणमा केही फरक नपर्ने गरी इमान्दारीका साथ सोही अंक चढाउनुपर्ने व्यवस्था छ।

तर, अधिकांश विद्यालयले सवै मापदण्ड कुल्चिएर आफुखुसी नम्वर दिएको अभिभावकहरुकै गुनासो छ । 

सप्तकोशी नगरपालिकाको शिक्षा शाखाका अधिकृत रमेश खड्काले भने विदेशमा भएको ब्यक्ति एसईई परिक्षा पास भएको विषय जानकारीमा आएको र सो विषयमा विद्यालयलाई पत्राचार गरी दुई दिन भित्र सम्पुर्ण विवरण उपलब्ध गराउन निर्देशन गरीएको वताए । एसईईको परिक्षा फर्म विद्यार्थी स्वयम् उपस्थित भएर भर्नु पर्ने ब्यवस्था रहेको जानकारी दिएका उनले ‘कसरी फर्म भरेर अंक पठाईयो’ भन्ने विषयमा छानविन हुने वताए । अंक पठाउँदा मापदण्ड पालना गरियो/गरिएन भन्ने विषय पनि छानविन हुने उनले वताए । 

 

एसईई जनता माद्यमिक विद्यालय सप्तकोशी नगरपालिका

विशेष