News

आफ्नै पार्टीको सरकार ढाल्नेबाट केही पनि सिक्न सकिँदैन : ओली

आफ्नै पार्टीको सरकार ढाल्नेबाट केही पनि सिक्न सकिँदैन : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पु¥याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताएका छन् ।तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २४औँ स्मृति दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा ओलीले पार्टीभित्रै कतिपय नेतामा पार्टीप्रतिको निष्ठाको भाव नभएको बताए । 

नेपाली जनताले विकास र सुशासनका लागि कम्युनिष्ट सरकार नै चाहिन्छ भन्ने महसुस गरेको उनको दाबी छ । आफूले नेतृत्व गरेको सरकारका कारण आमजनताको सरकारप्रति आशा र भरोसा बढेको उनले बताए ।  “केही व्यक्तिको हतारो र गैरजिम्मेवारीले गर्दा सरकार र पार्टीमा यो अवस्थामा आएको हो,” उनले भने ।

पूर्वप्रधानमन्त्री ओलीले तुलसीलाल अमात्य, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रितलगायतका नेताले पार्टी र जनताका लागि निस्वार्थ रूपमा  योगदान गरेको उल्लेख गरे । 

एमालेले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा अगुवाइ गरिरहेको अध्यक्ष ओलीको भनाइ छ । परराष्ट्र तथा औद्योगिक नीति, व्यापार, कृषि, सिँचाइ सबैमा एमालेले लिएको नीति नै राष्ट्रिय नीति बन्ने गरेको उनले बताए । सत्यका पक्षमा लाग्ने व्यक्तिलाई विगतदेखि नै विभिन्न पक्षले असहयोग गर्ने गरेको उनले बताए । उनले भने, “ऋषिमुनिका तपस्या भाड्नेदेखि बुद्धलाई गलत देख्नेहरू नभएका होइनन् । त्यो कुरा अझैसम्म रहेको छ ।” रासस 

केपी शर्मा ओली

विशेष