एसईईको अन्धाधुन्ध आन्तरिक मूल्याङ्कनले शिक्षामा क्षति पुग्ने विज्ञको चेतावनी

कोभिड महामारीले लामै समय असर पार्ने आकलनका माझ अब शिक्षण सिकाइ तथा परीक्षाबारे वैज्ञानिक विकल्प रोज्न शिक्षाविद् तथा जानकारहरूले सुझाव दिएका छन् । गत साता कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षाको परीक्षाफल पोहोरजस्तै सम्बन्धित स्कूलहरूले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा गरिँदा थुप्रै कमजोरी भएको औँल्याउँदै आइन्दा त्यसबाट जोगिनुपर्ने उनीहरूको भनाइ छ ।
विद्यालयस्तरीय शिक्षाको परीक्षासम्बन्धी उच्चतम निकायका अध्यक्षले विगत दुई वर्षमा एसईई परीक्षा व्यवस्थापनमा गम्भीर त्रुटि गरिएकाले त्यसको ठूलो मूल्य राज्यले चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
पहिले पहिले बोर्डले लिने परीक्षामा पूर्णाङ्क वा ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या एकदम थोरै हुने गरेकोमा गएको दुई वर्ष त्यो सङ्ख्या ह्वात्तै बढेकोबारे चर्चा भएपछि उनको यस्तो चेतावनी आएको हो ।
“यदि आन्तरिक मूल्याङ्कनको आधारमा गरिने हो भने पठनपाठनको पहिलो दिनदेखि नै त्यही अनुसार शिक्षकलाई र विद्यार्थीलाई बताइनुपर्थ्यो । पाठ्यक्रममा हुँदै नभएको यस्तो पद्धति पछि राज्यले खोजेर गयो, त्यो नै गलत छ, बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बीबीसी न्यूज नेपालीलाई भने ।
सबै काम परम्परागत हिसाबबाट गर्ने अनि परीक्षाको मुखैमा पुगेपछि आन्तरिक मूल्याङ्कनको बाटो रोज्नु नै नमिल्ने कुरा भएको उनले उल्लेख गरे ।
यो दुई वर्षको अन्योलका कारण राज्यले असाध्यै ठूलो मूल्य चुकाउनुपर्नेछ । ३६५ दिन कटेपछि उपल्लो कक्षामा गइहालिन्छ भन्ने आम बुझाइ बन्न सक्छ,“ उनले भने ।
सरकारले अपनाएको पद्धतिका कारण नै अहिलेको समस्या उब्जिएको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन् ।
निरन्तर मूल्याङ्कन भनिएको छ । तर त्यसलाई नपढाए पनि पास हुने रूपमा बुझियो । नियममा सुधारात्मक कक्षा लिनुपर्ने भनिएको छ त्यो पनि भएन । यसको असर कक्षा १० को परीक्षामा देखियो, उनले भने ।
शिक्षा विभागका पूर्वमहानिर्देशक एवं नेपाल सरकारका पूर्वसचिव महाश्रम शर्मा चाहिँ कोरोनाभाइरसको महामारीका बेला अन्य पठनपाठनका गतिविधि प्रभावित हुने अनि परीक्षा मात्र प्रभावित नहुने भनेर सोच्न नसकिने बताउँछन् ।