News अर्थ

भाटभटेनीको सवैभन्दा ठुलो शाखा इटहरीमा, भदौदेखि सञ्चालनमा आउने

भाटभटेनीको सवैभन्दा ठुलो शाखा इटहरीमा, भदौदेखि सञ्चालनमा आउने

देशका मुख्य शहरमा रिटेल चेन सञ्चालन गरिरहेको भाटभटेनीले प्रदेश–१ को सुनसरी स्थित इटहरीमा मुलुककै सवैभन्दा ठुलो सुपर स्टोर सञ्चालनमा ल्याउन लागेको छ ।

देशका मुख्य–मुख्य सहरहरुमा १८ वटा शाखा सञ्चालन गरिसकेको भाटभटेनीका सञ्चालक मिनवहादुर गुरुङ्गले पूर्वका उपभोक्ताहरुलाई ध्यानमा राखेर इटहरीमा सुपर स्टोर सञ्चालन गर्न लागेका हुन । 

इटहरी चौकभन्दा ४ किलो मिटर पश्चिममा पर्ने लबीपुरमा सुपर स्टोर सञ्चालनका लागि निर्माण कार्य चलिरहेको छ । जमिन र भौतिक संरचनाका लागि मात्र भाटभटेनीले २ अर्ब लगानी गरिसकेको गुरुङले जानकारी दिए।

कुल ३५ कट्ठा जमिनमा भाटभटेनी सुपर स्टोर सञ्चालनका लागि १८ महिनाअघि देखि नै निर्माण थालिएको थियो । भाटभटेनीका ए, बी र सी गरी ३ वटा ब्लक छन्। तीन वटै ब्लकको कुल क्षेत्रफल ३ लाख वर्गफिट छ। सबै ब्लकमा बेसमेन्टसहित ७ तला छन्। बेसमेन्टको क्षेत्रफल ५० हजार वर्गफिट छ र यसमा ५ सय गाडी सजिलै अटाउने क्षमता छ।

मनोरञ्जनका लागि भुइँतलामा ८ सय वर्गफिटका ३ वटा फाउन्टेन बनाइएको छ। बी ब्लकमा भाटभटेनीकै सामान राखिनेछन्। जसमध्ये भुइँतलामा ग्रोसरी, फ्रोजन आइटम, शृङ्गार प्रसाधन, हरियो तरकारी, पेय पदार्थ आदि राखिनेछन्। ग्रोसरीमा १८ वटा काउन्टर रहनेछन्। ग्रोसरीभित्रै आइसक्रिम पार्लर पनि राखिएको छ।

पहिलो तला किचनवेयर र बालबालिकाका खेलौनाका लागि छुट्याइएको छ। यसमा ७ वटा काउन्टर हुनेछन्। दोस्रो तलामा कपडा, जुत्ता आदि राखिनेछन् र यसमा १० वटा काउन्टरको व्यवस्था गरिएको छ। भाटभटेनीका अन्य स्टोरमा नपाइने ब्रान्डेड र मल्टिनेसनल कम्पनीका कपडा र जुत्ता पनि यस तलामा उपलब्ध हुने छ।

तेस्रो तलामा इलेक्ट्रोनिक आइटम, लगेज, गलैँचा आदि सजाइनेछ। यसमा १ काउन्टर राखिनेछ। चौथो तलामा हङकङको विश्व प्रसिद्ध मल्टिनेसनल कम्पनी क्यू एन्ड क्यूका फर्निचर हुनेछन्। पूर्वका लागि यी फर्निचर अत्यन्त नयाँ र आकर्षक हुने उनले दाबी गरे।

फर्निचरको तलाभन्दा माथि २ वटा मल्टिप्लेक्स सिनेमा हल हुनेछन्। एक हलको दर्शक क्षमता ५ सय हुनेछ।त्यस्तै सी ब्लकको भुइँतलामा केएफसी, काठमाडौंको पेपे पिजा र आँगन रेस्टुरेन्ट हुनेछ। यही तलामा बालबालिका खेल्ने ८ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ। यसभन्दा माथि हिमालय जाबा कफीको रेस्टुरेन्ट राखिनेछ।

हिमालय जाबा कफीभन्दा माथिका तला क बर्गका वाणिज्य बैङ्कका लागि छुट्याइएको छ। यही ब्लकमा बैङ्कका १० वटा एटीएम पनि राखिनेछन्। इटहरीको भाटभटेनीमा प्यासेजमा हिँड्न अटोवाक राखिएको छ। प्यासेजमा अटोवाक नेपालमै पहिलो पटक इटहरीमा भाटभटेनीले राखेको उनले सुनाए।

नेपालसहित विराटनगर तथा सुनसरीको सेतुबन्ध नाकाबाट भित्रने भारतीय ग्राहकका लागि पनि यो ठाउँ आकर्षक केन्द्र हुने विश्वास गरिएको छ। इटहरीको भाटभटेनीमा १० हजार व्यक्ति एकै पटक पस्दा पनि भीडभाड नहुने र दूरी कायम हुने जनाईएको छ।

सुपर स्टोरको निर्माण कार्य अन्तिम चरणमा पुगेको र सरसामानहरू सजाउने काम सुरु भइसकेको उनले वताए । यसको उद्घाटन गत माघ महिनाभित्र गरिसक्ने लक्ष्य राखिएको थियो। तर कोभिड सङ्क्रमणका कारण ६ महिना ढिला भयो।

बडादसैं र अन्य चाडबाडलाई लक्षित गरी भदौ १९ गतेदेखि सुपर स्टोर सञ्चालनमा आउँने जनाईएको छ । 

भाटभटेनी रिटेल चेन मिनवहादुर गुरुङ्ग

विशेष