News

कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि सेवा बन्द

कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि सेवा बन्द

जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको हो । कार्यालयको नागरिकता शाखाका दुई कर्मचारीमा सङ्क्रमण पुष्टि भएको र  अन्य कर्मचारीमा पनि सामान्य लक्षण देखिएकाले परीक्षणका लागि तयारी भइरहेको उनले बताए।

निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयमा सेवाग्राहीको भीड बढ्दा जोखिम पनि बढेकाले  मङ्गलबार एक सूचना जारी गर्दै सेवा बन्द गरिएको र यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमा मागेको  जनाइएको छ । दैनिक १५ देखि २० वटासम्म नागरिकता लिने र सोही संख्यामा राहदानी लिन सेवाग्राही आउने गरेको निमित्त प्रजिअ खतिवडाले बताए।

यसैगरी  मालपोत कार्यालयको पनि सेवा बन्द गरिएको छ । साउन २२ गते एक सूचना जारी गर्दै दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ३१ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको मालपोत अधिकृत पदम अर्यालले बताए।

जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको दर बढेकाले जिल्ला अस्पतालमा अहिले बिरामीको चाप बढेको निमित्त प्रमुख शानी शेर्पाले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयको पछिल्लो जानकारीअनुसार अहिलेसम्म एक हजार ७०७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकामा  एक हजार ४६३ निको भएका र  १३को मृत्यु भएको छ । रासस

विशेष