News राजनीति

सरकार विस्तार गर्न नसकेकोमा कांग्रेसका नेताले नै देउवालाई पारे हायल–कायल

सरकार विस्तार गर्न नसकेकोमा कांग्रेसका नेताले नै देउवालाई पारे हायल–कायल

एक महिना वितिसक्दा पनि सरकार विस्तार गर्न नसकेपछि नेपाली कांग्रेसकै नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न उठाएका छन् ।

देउवाको निजी निवास बूढानीलकण्ठमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरुले सभापति देउवाको कडा आलोचना गरेका छन् ।

केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री भएकोमा बधाई तथा शुभकामना दिँदै मन्त्रिपरिषद विस्तारमा गरेको ढिलाइबारे प्रश्न उठाए। ‘तपाईं प्रधानमन्त्री भएको एक महिना भयो । १५ मन्त्रालय नेतृत्वविहीन छ । यस्तो अवस्थाले कसरी सरकार सञ्चालन गर्नहुन्छ ?’ 

कोईराला मात्र होईन, अधिकांश वक्ताले उनको सरकार सञ्चालनको शैलीमाथि कडा प्रश्न उठाएका छन् ।

यसैगरी, कार्यकर्ताको धर्ना कारण पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक राख्न नसकेको विषयमा पनि कोईरालाले देउवाको आलोचना गरे। उनले ‘कार्यकर्ताबाट भाग्ने होइन पार्टी कार्यालयमा धर्ना बसेकाहरूका माग सम्बोधन गर्नुपर्छ’ भन्दै देउवालाई सचेत गराए ।

‘पार्टीको बैठकको लागि उचित ठाउँ पार्टी कार्यालय नै थियो । महाधिवेशन गर्न के ले रोक्यो, यहाँहरूले महाधिवेशनको टुंगो लगाउनुहोला । कार्यकर्ता कुरेर बस्यौँ । तर आजसम्म कार्यतालिका ल्याउनुभएन’– कोईरालाले भने ।

अर्का केन्द्रीय सदस्य धनराज गुरुङले ‘शेरबहादुर देउवा मलाई मनपर्छ किनभने...’ शिर्षकको भिडिओमाथि आपत्ति जनाए। भिडियोलाई नेता गुरुङले भ्रामक कुराको संज्ञा दिएका थिए । ‘आइ लभ यू बा भन्नेहरूले केपी ओलीलाई सिंहदरबारबाट बालकोटको बार्दलीमा पु¥याए । सभापतिज्यू तपाईं प्रधानमन्त्री बनेपछि कांग्रेसमा पनि मलाई शेरबहादुर मनपर्छ भन्ने प्रवृत्ति सुरू भएछ,’ नेता गुरुङले भने ।

जवाफमा सभापति देउवाले उक्त भिडियो सामाजिक सञ्जालमा देखेर आफैँ चकित भएको बताए । र उक्त भिडियो अब हटाउन लगाउने पनि बताए । 

नेपाली काँग्रेस शेरबहादुर देउवा शेखर कोइराला सरकार विस्तार

विशेष