News

संरक्षणको अभावमा बाजुराको ऐतिहासिक बेतालछडी झर्ना 

संरक्षणको अभावमा बाजुराको ऐतिहासिक बेतालछडी झर्ना 

प्राकृतिक रुपमा सम्पन्न बाजुराको समृद्धिका लागि पहिचान हुन बाँकि रहेका सम्पदाहरुको पहिचान, संरक्षण र पर्वद्धन हुन आवश्यक छ । जनताका आधारभुत आवश्यकतासँग जोडिएका विविध पक्षको सुनिश्चितताका लागि  बाजुराभित्र भएका स्रोतको पहिचान हुनुपर्छ । 


बाजुराका जिल्ला पर्यटकीय दृष्टिकोणले पनि प्रचुर सम्भावना बोेकेको जिल्ला हो । बडिमालिका, खप्तड, बुढिनन्दा, छेडेदह, बार्जुकोट, मौरेधाम, नाटेश्वरी, बढालेक मात्र नभई थुप्रै क्षेत्रहरुको पहिचान हुन सकिरहेको छैन । 


पर्यटकिय सम्भावना बोकेको बाजुरासँग कयौँ गुमनाम सुन्दर चिजहरु छन् । जसमध्येको एक बेतालछडी झर्ना पनि हो । जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर ८ र १० बिचमा पर्ने बेतालछडी झर्ना अझै पहिचान र पर्वद्धनको पर्खाइमा छ । 


यो झर्ना साँफे मार्तडी सडक खण्डबाट करिब २० मिनेट पैदल यात्रा गरेर पुग्न सकिन्छ । करिब १५० मिटर लामो बेतालछडी झर्ना  प्राकृतिक रुपमा निकै मनमोहक छ । सुन्दरताले भरिपुर्ण भएपनि अवलोकन गर्ने व्यक्तिको भने उपस्थिति छैन । बेतालछडी झर्ना संरक्षण र प्रचारको अभावमा ओझेलमा परेको स्थानिय बताउँछन् ।


झर्नाको प्रचार प्रसार हुन सके धार्मिक दृष्टिकोणले समेत अगाडि बढाउन सकिने सम्भावना रहेको बडिमालिका क्याम्पसका विद्यार्थी नेता तपेश रावल बताउँछन् । उनी भन्छन्, ‘परापुर्बक कालमा बेताल देवताले यो झरनाबाट लडाकु घोडा सहित झर्ना चढेको भनाइ छ । झरनाको बिच चट्टानमा अहिले समेत घोडाका खुरुका छापहरु अझै देख्न सकिन्छ ।’ 


मुलकमा संघियता कार्यान्वयन भएर गाउँगाउँमा सिंहदरबार पुगेपनि बुढिगंगाको बेतालछडी भर्ना भने अझै व्यवारिसे बनेको छ । यहाँका सिंहदरबारबासीको ध्यान बेतालछडी झर्नामा पुग्न सकेको छैन । 


पर्यटकको लागि सुरक्षित पदमार्ग र प्रचार प्रसार हुनसके निकट भबिष्य मै बेतालछडी झर्नाले पहिचान पाउने स्थानियको भनाइ छ । 
 

बाजुरा बेतालडी झर्ना 

विशेष