News राजनीति

एमाले विभाजन रोक्न झलनाथलाई ओलीसँग मिलाउने तयारी, दुई नेता पुगे दिल्ली

एमाले विभाजन रोक्न झलनाथलाई ओलीसँग मिलाउने तयारी, दुई नेता पुगे दिल्ली

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ पार्टी निर्माणको अन्तिम तयारी छन् । उनका पछिल्ला गतिविधीले त्यहि संकेत गर्छ । उनी निकट केहि नेताहरुले एक साता भित्रै नयाँ पार्टी दर्ता हुने वताई रहँदा स्वयम नेपालले पनि शनिवार बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा त्यसको सामान्य छनक दिए।

उनले पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको बताएका छन् । यद्यपी पार्टी एकता र सहमतिका नाममा नेता नेपालले थप्दै गएका एकपछि अर्को सर्तले पनि उनलाई पार्टी एकतामा खासै रुची नभएको संकेत देखिएका थिए । तर, उनको जिकिर भने आफुले पार्टी एकता चाहेको र अध्यक्ष ओलीले नै विभाजन चाहेको वताउने गरेका छन् ।

आफनै सहमति अनुसार गठन भएको एकता कार्यदलले प्रस्तुत गरेको १० वुँदे समझारीमा पनि नेता नेपालले अपनत्व ग्रहण गर्न सकेनन्। जसका कारण कार्यदलमा रहेका उनी पक्षकै नेताहरु पनि सशंकित भएका छन् । नेता नेपालले आफनो जिद नछोडेकैले कतिपय नेताहरु अध्यक्ष ओलीसँग नजिक हुन थालेको श्रोत वताउँछ । स्रोतका अनुसार अवस्थामा सुधार नआए नेपाल समुहमै ध्रुविकरण सुरु हुन सक्ने खतरा वढेको छ ।

त्यसका केहि लक्षणहरु सुरु भईसकेको जनाउँदै पार्टीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिने बहानामा नेपाल पक्षका दुई नेता भारतको नयाँ दिल्ली पुगेको स्रोत वताउँछ।

पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाल दिल्लीको एपोलो अस्पतालमा उपचाररत छन् । मृगौला प्रत्यारोपण गरेपछि दिल्लीको अस्पतालमा रहेका खनाललाई भेट्ने निहुँ बनाएर नेता सुरेन्द्र पाण्डे र भिम आचार्य दिल्ली पुगेको जनाईएको छ। उनीहरुले यसवारे माधव नेपाललाई समेत जानकारी दिएका थिएनन्।

नेपाल निकटकै एक नेता भन्छन्–‘कार्यदलमा रहेका नेताहरु पार्टी विभाजन नहोस भन्नेमा प्रयासरत हुनुहुन्छ, त्यसैले वहाँहरु गएको विषयमा नेता नेपाललाई जानकारी छैन।’ पार्टी विभाजनको अवस्था आए अध्यक्ष ओलीलाई साथ दिनुपर्ने भन्दै दुई नेता खनालसँग सल्लाह गर्न गएको स्रोतको दावी छ । दिल्ली पुगेका दुवै नेता खनाल समुहका हुन ।

उनीहरुसहित गोकर्ण विष्ट, ठाकुर गैरे लगायतका नेताहरु सकेसम्म पार्टी विभाजन गर्न नहुने पक्षमा छन् । आठौ महाधिवेशनमा झलनाथ खनाल समूहमा रहेका नेताहरुलाई संगठित गरेर पार्टी विभाजनबाट रोक्न सकिन्छ भन्ने प्रयासमा उनीहरु लागेको स्रोतको दावी छ । तर खनाल स्वयम् भने ओलीसँग मिल्न नसक्ने भन्दै नयाँ पार्टी बनाउने पक्षमै देखिएका छन् ।

नेता पाण्डेले कानुनी रुपमा एमालेको अध्यक्ष केपी शर्मा ओली नै भएको बताउनु, आचार्यले पार्टीभित्र विभाजनकारी शक्ति हावी भएको बताउनु र उनीहरु एक्कासी दिल्ली पुग्नुले नेपाल समुहका हलचल सुरु भएको छ ।

पार्टी विभाजन हुने अवस्था आए नेपाल पक्षमा रहेका ८७ जना केन्द्रीय सदस्य मध्ये करिव २० जनाले उनलाई साथ नदिने संभावना रहेको स्रोतको दावी छ । अहिले प्रभावशाली भनिएका युवा पुस्ताका नेताहरुले नेपाललाई साथ दिने सम्भावना कम छ । 

माधवकुमार नेपाल सुरेन्द्र पाण्डे भिम आचार्य एपोलो अस्पताल

विशेष