News विदेश

तालिनवाले देश कब्जा गरेपछि धेरै अफगानिस्तानी विस्थापित, विमानस्थलमा भिड

तालिनवाले देश कब्जा गरेपछि धेरै अफगानिस्तानी विस्थापित, विमानस्थलमा भिड

अफगानिस्तानको राजधानी काबुललाई विद्रोही समूह तालिबानले कब्जामा लिए पछि त्यहाँका नागरिक विस्थापित हुन थालेका छन् । काबुल छोड्ने क्रममा अमेरिकी सेनाले गोली चलाउँदा त्यहाँ भागदौड समेत मच्चिएको थियो ।

देश छोड्नेहरुका कारण काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा भीड लागेको छ । विमानस्थलमा गोलाबारीसमेत भएको आवाज सुनिएको र केही घाइते भएका बीबीसीले जनाएको छ ।

तालिबानले भने काबुलका बासिन्दालाई नडराउन आग्रह गरेको छ । आफूहरुले बदला नलिने भन्दै नडराउन तालिबानले आग्रह गरेको हो । तालिबानका प्रवक्ताले आफ्ना लडाकुलाई नागरिकको रक्षा गर्न निर्देशन दिएका छन् ।

अफगानिस्तानका नागरिकको अवस्था अब के होला भन्ने चासोकाबीच तालिबानका प्रवक्ता सुहैल शाहीनले आफ्ना लडाकुलाई नागरिकलाई दु;ख नदिन र उनीहरुको रक्षा  गर्न आदेश दिएका हुन् । उनले अनुमति नलिइ नागरिकको घरमा प्रवेश नगर्न पनि भनेका छन् । यस्तै उनले नागरिकको सम्पत्ति र सामानमा नोक्सानी नगर्न पनि भनेका छन् ।

अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै तालिबानले आफूलाई नागरिकप्रति उदार रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ । यसअघि तालिबानले आफूले महिलाको अधिकार कुण्ठित नगर्ने र उनीहरुको सम्मान गर्ने पनि बताएको थियो ।

तर, यसबीचमा महिलाहरुलाई बुर्खा लगाउन बाध्य पारेको तथा कुटपिट गरेको खबर भने आइरहेका थिए । 

यसैबीच, अमेरिकाले काबुलका बासिन्दाको उद्धार गर्न एक हजार अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

यसअघि अमेरिकाले त्यहाँ तीन हजार सैनिक पठाएको थियो । अफगानिस्तानमा २० वर्षसम्म रहेका अमेरिकी सेना स्वदेश फर्किन थालेसँगै त्यहाँ विद्रोही समूह तालिबान सक्रिय भएको हो । 

विशेष