कस्ले गर्ला तालिवान सरकारको नेतृत्व ? हैबातुल्लाह अखुन्जादा र मुल्ला अब्दुलको चर्चा
विद्रोही समुह तालिवानले राजधानी कावुलसहित अफगानिस्तान कब्जा गरेको छ । राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडिसकेका छन्। सत्ता हस्तान्तरणको प्रकृया पनि सुरु भईसकेकाले अव देशको नेतृत्व तालिवानले गर्नेमा कुनै शंका वाँकी छैन।
यसै सन्दर्भमा अव तालिवान सरकारको नेतृत्व कसले गर्छ भन्ने विषय चर्चामा छ। करिब २० वर्षको संघर्षपछि अफगानिस्तानलाई नियन्त्रणमा लिन सफल भएको तालिवानका शीर्ष नेताहरूमध्ये सरकारको नेतृत्व गर्न सक्ने सम्भावित दुई जनाको नाम चर्चामा छ । हैबातुल्लाह अखुन्जादा र मुल्ला अब्दुल घानी बरादरले सरकारको नेतृत्व गर्न सक्ने वताईन्छ।
संगठनको राजनीतिक विभाग प्रमुख रहेका मुल्ला अब्दुल घानी बरादर तालिवानका संस्थापक नेता हुन । सन् १९९४ मा संगठन वन्दा उनी नेता थिए । उनी मुल्ला मोहम्मद ओमरका विश्वासपात्र भएको मानिन्छ। उनलाई सुरक्षा फौजले सन् २०१० मा पाकिस्तानको कराँचीबाट पक्राउ गरी सन् २०१८ मा रिहा गरेको थियो। उनी पछिल्लो समय कतारको दोहामा भएको शान्तिवार्ताका एक सदस्य थिए।
सन् २००१ मा अमेरिकाले तालिवानलाई सत्ताच्युत गरेपछि बरादरले नेटो सेनाविरुद्धको विद्रोहको नेतृत्व गरेका उनलाई सन् २०१० मा अमेरिका र पाकिस्तान सरकारको संयुक्त सेनाले पक्राउ गरेको थियो । सन् २०१८ मा उनी रिहा भएका थिए । इन्टरपोलका अनुसार बरादरको जन्म अफगानिस्तानको उरुजगान प्रान्तको देहराहुड जिल्लामा सन् १९६८ मा भएको थियो।
यसैगरी, हैबतुल्लाह अखुन्दाजा इस्लाम धर्मका ज्ञाता हुन्। उनी तालिवानको गढ रहेका क्षेत्र कान्दाहारमा जन्मिएका थिए। तालिवानलाई अहिलेको अवस्थामा पु¥याउन उनको निकै ठूलो योगदान रहेको विश्वास गरिन्छ। सन् १९८० को दशकमा सोभियत संघविरुद्धको लडाइँमा कमान्डर रहेका अखुन्दाजालाई इस्लाम धर्मका विद्वानका रूपमा चिनिन्छ।
तालिवान प्रमुख हुनुभन्दा अगाडि नै संगठनको प्रमुख नेताहरूमध्ये एक अखुन्दाजाले धर्मसँग सम्बन्धित आदेशहरू दिने गर्थे। कुनै घटनामा दोषी पाइएकाहरूलाई र अवैध यौन सम्बन्ध राख्नेहरूलाई मृत्युदण्ड दिन र चोरी गर्नेहरूको हात काटिदिन आदेशसमेत दिएका थिए।
तालिवानका तत्कालीन प्रमुख अख्तर मोहम्मद मन्सुर सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा मारिएपछि अखुन्दाजाले संगठनको नेतृत्व सम्हाल्दै आएका छन्। करिब ६० वर्षका उनले अधिकांश समय अफगानिस्तानमा नै बिताएका छन्।
तालिवान अफगानिस्तान