News

महन्थ ठाकुर पनि देउवाको सरणमा, अध्यादेश आफु अनुकुल ल्याउन आग्रह

महन्थ ठाकुर पनि देउवाको सरणमा, अध्यादेश आफु अनुकुल ल्याउन आग्रह

सरकारले सोमवार एकाएक प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरेपछि राजनीतिक दलसम्बन्धी अध्यादेशको चर्चा चुलिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो वर्ष बैशाखमा ल्याएरपनि फिर्ता लिइएको उक्त अध्यादेशलाई अझ परिस्कृत गर्दै जारी गर्न लागिएको बताइन्छ । उक्त अध्यादेश खास गरी नेकपा एमाले फुटाउन ल्याउन लागिएको हो । तर, त्यसलाई जनता समाजवादी पार्टीमा अल्पमतमा परेको महन्थ ठाकुर र राजेन्द्र महतो समुहले उपयोग गर्ने देखिएको छ। अध्यादेशमा ठाकुर र महतोको विषेश चासो देखिएको छ ।

उपेन्द्र यादवलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयपछि सोमवारै सर्वोच्च अदालतले पनि जसपा विवादमा महन्थ ठाकुरलाई साथ नदिने निर्णय सुनाउना साथ यो समूह चर्को तनावमा छ । नयाँ पार्टी खोल्ने सुविधा पाइएन भने यो खेमाका १२ जना सांसदको पद गुम्न सक्छ। जसरी, माओवादी केन्द्र छोडेर एमालेमा रहेका टोपबहादुर रायमाझी, प्रभू साह, लेखराज भट्टलगायतका सांसदको पद प्रचण्डको एउटा चिठीका भरमा गयो, त्यसै गरी उनीहरुको सांसद पद पनि उपेन्द्र यादवको चिट्ठीको भरमा जान सक्छ ।

त्यसैले ठाकुर–महतो समुहले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गराउन विशेष चासो देखाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । केहीबेर अघि जसपा नेताहरु महन्थ ठाकुर, शरदसिंह भण्डारी र लक्ष्मणलाल कर्ण त्यहाँ पुगेका हुन् ।

ठाकुुर समूहले जसपाबाट छुट्टिएर नयाँ दल दर्ताको निम्ति अनुकूल व्यवस्थासहितको अध्यादेश जारी गरेको अवस्थामा आफूहरु समेत देउवा सरकारमा सामेल हुने आशय राखेको स्रोतको दाबी छ ।

उता एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत प्रधानमन्त्री देउवाले अध्यादेशमा गरिने नयाँ व्यवस्थाबारे विचार विमर्श गरेको बुझिएको छ । स्वयम् नेता नेपाल पनि केही दिनदेखि आफू निकटस्थ नेताहरुसँग सरकारले जारी गर्नसक्ने राजनीतिक दलसम्बन्धी अध्यादेशमा समावेश गर्नुपर्ने नयाँ व्यवस्थाबारे विचार विमर्शमा व्यस्त रहेको स्रोतको दावी छ।

यो पनि

अध्यादेश ल्याएर एमाले फुटाउन संसद अधिवेशन अन्त्य !

एमाले फुटाउन ओलीले ल्याएको अध्यादेश ब्युँताउने देउवाको तयारी

 

केपी शर्मा ओली अध्यादेश शेरबहादुर देउवा

विशेष