News राजनीति

अध्यादेश सिफारिससँगै माधव नेपाल समूहको भेला सुरु, रावलको भेला छुट्टै

अध्यादेश सिफारिससँगै माधव नेपाल समूहको भेला सुरु, रावलको भेला छुट्टै

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २२ सांसदको छलफल सुरु भएको छ । नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूहका २२ सांसद भेला भएका छन् ।

मन्त्रिपरिषदले दल विभाजनसम्वन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरे लगत्तै नेपाल समूहको भेला आयोजना गरिएको हो । यसअघि कार्यदलमा रहेका सदस्यहरुसँग पनि नेता नेपालले छलफल गरेका थिए ।

उपाध्यक्ष भीम रावलले भने आफू पक्षका नेता तथा सांसद्हरुको छुट्टै भेला आयोजना गरेका छन्। रावलले पार्टी विभाजन हुने स्थितिमा के गर्ने, कतातिर लाग्ने भन्ने विषयमा परामर्श गरेको एक नेताले जानकारी दिए। 

पार्टी विवादको सुरुवातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रोशित रावल पछिल्लो समय नरम हुँदै आएका थिए। उनी अध्यक्ष ओली र वरिष्ट नेता माधवकुमार नेपालसँग समदूरी थिए। उनी ओलीतिरै खुल्ने आकलन गर्न थालिएको थियो।

यता, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। मन्त्रिपरिषदले सिफारिस गरेको दल विभाजनसम्बन्धी अध्यादेशलगायतका विषयमा छलफल गर्न देउवा शितल निवास पुगेका हुन ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेका दल विभाजन गर्न सक्ने गरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो। मौजुदा कानुन अनुसार भने दल विभाजनका लागि संसदिय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत पुग्नु पर्ने ब्यवस्था छ।

अध्यादेश ल्याउने सरकारको निर्णयसँगै अब फुटको संघारमा रहेका नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन हुन सजिलो हुने भएको छ।

अध्यादेश शेरबहादुर देउवा माधवकुमार नेपाल जसपा

विशेष