News

काठमाडौँको कपनमा बोरिङ खन्दा मिथेन ग्यास मिसिएको पानीको फोहोरा निस्कियो 

काठमाडौँको कपनमा बोरिङ खन्दा मिथेन ग्यास मिसिएको पानीको फोहोरा निस्कियो 

पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरा निस्क्यो । तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा काठमाडाँै कपन शिवमन्दिर नजिक निरन्तर छ ।

भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन् । फोहोरा जारी रहेपछि उनीहरुले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए । सूचनापश्चात् घटनास्थल निरीक्षणमा आइपुग्नुभएका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले फोहोरामा मिथेन ग्यास मिसिएको जानकारी दिए । “काठमाडौँ उपत्यकाको जमिनमुनि मिथेन ग्यास रहेको छ र यसअघि कालीमाटी, टेकु, धुम्बाराहीमा पनि यसरी मिथेन ग्यास निस्किएको थियो”, श्रेष्ठले भने।

त्रसित स्थानीयवासीको प्रतिक्रियामा उहाँले ग्यासलाई बन्द गर्न नहुने र सतर्कताका लागि भने वरिपरि ग्यास, आगो, लाइटरजस्ता कुरा बाल्न नहुने बताए। कति सययसम्म यो जारी रहन्छ भन्ने प्रश्न गर्दा, भूगर्भविद् श्रेष्ठले यो प्राकृतिक घटना कतिसम्म जारी रहन्छ भन्ने आँकलन गर्न नसकिने जनाए।

घर नजिकै यस्तो अनौठो घटना भएको देख्दा स्थानीयवासी बद्री ढकालले आफूलाई कतै जमिन नै भासिने पो हो कि भने डर लागेको बताए । “सुरुमा लेदो निस्किए पनि अहिले ग्यास गन्हाएको र पानीसहित बालुवा फोहोरा भएर भुल्किरहेको छ”, उनले भने। करिब एक सय ५० फिट गहिरो खन्दा यस्तो घटना भएको उनको भनाइ छ । 

फोहोराका कारण नजिकैको घर हिलाम्मे भएको छ । अनौठो फोहोरा हेर्न मानिसको भीड बढ्दै गएपछि यतिखेर प्रहरीले भीडभाड नगर्न माइकिङ गरिरहेको छ । कपन प्रहरी चौकी प्रमुख प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले भूगर्भविद्को सल्लाहअनुसार घटनाको दुई सय मिटर वरपर घरमा ग्यास, लाइटर नबाल्न सचेत गराइएको जानकारी दिए। साथै कपन पञ्चकुमारीदेखि शिवमन्दिर जाने बाटोमा ट्राफिक डाइभर्सन गराइने उनले जानकारी दिए। रासस

विशेष