News राजनीति

माधव नेपालको नयाँ पार्टी ‘नेकपा समाजवादी’, स्थायी कमिटी सदस्यको असहयोग

माधव नेपालको नयाँ पार्टी ‘नेकपा समाजवादी’, स्थायी कमिटी सदस्यको असहयोग

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टीको सम्भावित नाम र चुनाव चिन्हबारे विकल्पहरु तयार पारेको छ।

सम्भवतः राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धि अध्यादेश आज प्रमाणिकरण गरी जारी गर्नेछिन्। मंगलवार मन्त्रिपरिषद्बाट सिफारिस भएको अध्यादेशबारे कानुनी छलफलका लागि शितल निवासले रोके पनि आज बुधवार जारी गर्ने तयारी भइरहेको छ। 

अध्यादेश जारी भएसँगै नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ राजनीतिक दल गठनका लागि निर्वाचन आयोग जानेगरी तयारी थालेको छ। त्यसका लागि स्थायी कमिटी सदस्य बेदुराम भुसालसहितका नेताहरुले पार्टीको विधान, नियमावली, चुनाव चिन्ह, नाम लगायतका विषयलाई अन्तिम रुप दिइरहेका छन्। 

नेपाल समुहले पार्टीको नाम नेकपा समाजवादी वा नेकपा एमाले (क्रान्तिकारी) राख्ने तयारी छ। पार्टीको नाममा नै कुनै न कुनै रुपमा समाजवादी शब्दलाई राख्नुपर्छ भन्ने बहुमत राय आएकोले नेकपा समाजवादी राख्ने निर्णय भएको एक नेताले जनाए । यद्यपी अन्य ४ नाम पनि छनौट रहेको उनले वताए ।

त्यस्तै चुनाव चिन्ह ताराभित्र हँसिया हथौडाको विषयमा लगभग टुंगो लागिसकेको बताइएको छ। चुनाव चिन्हमा कलम, कलश, दियोलगायतको पनि चर्चामा थियो। यसअघि माधव नेपाल पक्षका डाक्टर खिमलाल देवकोटा राष्ट्रिय सभामा कलम चिन्हबाटै गठबन्धनको तर्फबाट चुनाव लडेर विजयी भएका थिए। 

नेपाल पक्षले अध्यादेश जारी भएसँगै ६० देखि ९० सदस्यीय केन्द्रीय सदस्यको नामावालीसहित नयाँ दल दर्ताको प्रक्रिया थाल्ने छ। नेपाल पक्षमा हाल २२ जना प्रतिनिधिसभा सदस्यहरु स्पष्ट रुपमा खुलेका छन्। त्यस्तै नेपाल पक्षले ६० जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिसकेको दाबी गरेको छ।

निर्वाचन आयोगमा कायम रहेको २०३ सदस्यमध्ये २० प्रतिशत अर्था ४१ केन्द्रीय सदस्यको हस्ताक्षर पु¥याउनुपर्ने हुन्छ।  

सरकारले अध्यादेशको सिफारिस गरेसँगै केपी शर्मा ओलीले निर्वाचन आयोगमा २६० सदस्यीय केन्द्रीय सदस्यको सूची अध्यावधिक गराउनका लागि निर्वाचन आयोग पु¥याएका छन्। आयोगमा निवेदन दर्ता भए पनि आयोगले अध्यावधिक गरिसकेको छैन। यदि आयोगले ओलीले पठाएको सूचीलाई अध्यावधिक गर्यो भने नेपाल समूहले विभाजनका लागि ५२ जना पु¥याउनुपर्ने हुन्छ। 

नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल रहनेछन् भने अरु पदाधिकारीबारे छलफल नै भएको छैन ।

स्थायी कमिटी सदस्यको असहमति
नेपाल समूहले पार्टी विभाजनका लागि केन्द्रीय सदस्यको हस्ताक्षर शंकलन गरेकोमा स्थायी कमिटी सदस्यले भने असहमति जनाएका छन्। नेपाल पक्षका स्थायी कमिटी सदस्यमध्ये माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने र वेदुराम भुसालले मात्रै हस्ताक्षर गरेका छन्। केन्द्रीय सदस्य राजेन्द्र राईका अनुसार खनालले विभाजनका लागि हास्ताक्षर पठाएका हुन्।

माधव नेपाल जसरी पनि पार्टी विभाजन गर्न लागेकाले आफूहरूले साथ दिन नसकेको एक स्थायी कमिटी सदस्यले वताएका छन् ।  ‘१० बुँदे कार्यान्वयन गरेर एकतामा जाने भन्ने हाम्रो अडान हो। १० बुँदेप्रति हाम्रो नैतिक दायित्व पनि छ। माधव कमरेडले हस्ताक्षर गराउनुभएको छ भन्ने सुनेको छु। जे गर्दा पनि विभाजन गर्ने भनेपछि यस्ता कुरालाई साथ दिन सकिँदैन’ ति स्थायी कमिटी सदस्यले भने–‘समस्या छ, समस्याको समाधन खोज्नुपर्छ तर विभाजनकै लागि जन्मेको त होइन नि।’

आफूहरूले समस्या समाधानका लागि पहल गरे पनि माधव नेपालले एकपछि अर्को समस्या निकालेको उनले आरोप लगाए । नेपाल निकटका उपाध्यक्ष युवराज ज्ञवाली पनि विभाजनमा जान नहुने बताउँछन् ।

नेपाल समूहमा रहेका उपाध्यक्ष ज्ञवालीसहित उपाध्यक्षहरू भीम रावल र अष्टलक्ष्मी शाक्य, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य विभाजनको पक्षमा छैनन्। उपमहासचिव घनश्याम भुसाल अझै स्पष्ट छैनन्। स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि विभाजनको पक्षमा छैनन्। नेपालसँग अत्यन्तै निकट रहेका स्थायी कमिटी सदस्य रघुजी पन्तले समेत हस्ताक्षर गरेका छैनन्।

माधवकुमार नेपाल विद्यादेवी भण्डारी अध्यादेश नेकपा समाजवादी

विशेष