News

देउवाको अध्यादेश विरुद्ध किन ताते गगन, शेखर र कृष्ण सिटौला ?

देउवाको अध्यादेश विरुद्ध किन ताते गगन, शेखर र कृष्ण सिटौला ?

सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा थापाले संसद अधिवेशन हठात् अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु जसले गरे पनि गलत हुने बताएका हुन ।

हिजो केपी शर्मा ओलीले यसरी अध्यादेश ल्याउँदा गलत भन्ने र त्यस विरुद्ध उभिने जो कसैलाई पनि आज अध्यादेशको समर्थन गर्ने हक नभएको पनि उनले बताएका छन् । 

यदि अहिले अध्यादेशको समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नु पर्ने थापाको भनाइ छ । 

‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत! हिजो गलत, आज गलत, सधैं गलत, जसले गरेपनि गलत,’ बुधबार बिहान सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन। समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’

साथै  विगतमा ओलीले ल्याएको यस्तै अध्यादेशमा ल्याप्चे लाउने राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि अहिले यो अध्यादेशको विरोध गर्ने हक नभएको थापाको भनाई छ। 

‘गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन,’ उनले अगाडि लेखेका छन्, ‘विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ!’

उनी मात्र होईन, नेपाली कांग्रेसका अधिकांश नेता अध्यादेशको विरोधमा छन् । पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सैद्धान्तिक रूपमा यो गलत भएको वताएका छन् ।

नेता शेखर कोइरालाले सिद्धान्त र विचार भनेको आफ्नो स्वार्थअनुसार व्याख्या गरिने विषय नभएको वताए । ‘हिजो ओलीले त्यही अध्यादेश ल्याउँदा अलोकतान्त्रिक र निरंकुश कदम भनेर चर्को विरोध गर्ने, आज देउवाले त्यही बाटो समात्दा लोकतान्त्रिक र प्रजातन्त्रिक कदम भनेर समर्थन गर्ने कुरा हुन सक्दैन,’ उनले भने।

नेपाली काँग्रेस गगन थापा अध्यादेश

विशेष