News राजनीति

कारवाही रोक्न हारगुहार गर्दै संसद सचिवालयमा माधव समूह

कारवाही रोक्न हारगुहार गर्दै संसद सचिवालयमा माधव समूह

अध्यक्ष केपी शर्मा ओली समुहले कारवाही गरेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जना सांसद हारगुहार गर्दै संसद् सचिवालय पुगेका छन् । कारबाही रोक्न माग गर्दै निवेदन लिएर उनीहरु सचिवालयमा पुगेका हुन ।

नेकपा एमालेले ह्विप उल्लंघन गरेको भन्दै वरिष्ठ नेता नेपालसहित १४ जनामाथि पार्टीले कारबाही गरेको जानकारी संसद सचिवालयमा मंगलबार दिईको थियो । उक्त निवेदनमा तथ्यगत रुपमा गलत भएको जिकिर गर्दै उनीहरु सचिवालयमा पुगेको जनाईएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई सांसद पदबाट हटाउन भन्दै ओली समुहले सचिवालयमा पत्र पठाएको थियो। 

सो पत्र सर्वोच्च अदालतको फैसालअनुसार २०७५ जेठ २ यता नेकपा एमालेको बैठक बस्न नसकेको र साउन २५ गते बैठक बसेको भन्ने धारणा तथ्यगत रुपमा गलत भएको जनाईएको छ ।

त्यसैगरी, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने क्रममा कुनै प्रकारको ह्विप जारी नभएको जिकिर निवेदनमा दिइएको छ । 

वरिष्ठ नेता नेपाल समुह नयाँ पार्टी दर्ताको प्रकृयामा छ । नेपाल समुहले पार्टीको नाम नेकपा समाजवादी वा नेकपा एमाले (क्रान्तिकारी) राख्ने तयारी छ। त्यस्तै चुनाव चिन्ह ताराभित्र हँसिया हथौडाको विषयमा लगभग टुंगो लागिसकेको बताइएको छ। 

नेपाल पक्षले ६० देखि ९० सदस्यीय केन्द्रीय सदस्यको नामावाली तयार गरेको छ। नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल रहनेछन्।

तर, पार्टी विभाजनका लागि स्थायी कमिटीका सदस्यहरुले भने असहमति जनाएका छन् ।

केपी शर्मा ओली माधवकुमार नेपाल

विशेष