News Breaking News मुख्य समाचार देश राजनीति

दार्चुला घटनामा सत्यतथ्य नबुझि समाचार सम्प्रेषण भइरहेको छानबिन समितिका संयोजकको संकेत

दार्चुला घटनामा सत्यतथ्य नबुझि समाचार सम्प्रेषण भइरहेको छानबिन समितिका संयोजकको संकेत

काठमाडौं । दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा बेपत्ता भएको घटनाबारे छानबिन गर्न गठित समितिलाई अनुसन्धान गर्ने क्रममा भारततर्फबाट अवरोध भएको समाचार विभिन्न सञ्चार माध्यममा आएका छन् ।

जस्तै छानबिन समितिलाई जयसिंहको खोजी गर्न ड्रोन उडाउन नदिएको, भारतीय भूमि प्रयोग गर्न नदिएको लगायतका शीर्षकमा विभिन्न सञ्चार माध्यममा समाचार आएको हो । तर यसमा कुनै सत्यता नरहेको छानबिन समितिका संयोजकले सामाजिक सञ्जालमा पोष्ट गरेको स्ट्याटसले संकेत गरेको छ ।

छानबिनमा असर पार्ने गरी आएका यस्ता समाचारमा कुनै सत्यता नरहेको छानबिन समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले सामाजिक सञ्जालमा पोष्ट गरेको स्ट्याटसले संकेत दिएको हो ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा कुनै घटनालाई नजोडि घुमाउरो पारामा लेखेका छन्, ‘म धेरै आश्चर्यचकित छु, बिल्कुल निराधार र गलत समाचार सम्प्रेषण। यसले राज्यको चौथो अंगको शक्तिलाई कमजोर बनाउँछ।’

दार्चुला घटनाका छानबिन समितिका संयोजक गौतमको यस्तो स्ट्याटसले विभिन्न मिडियाहरु सत्यतथ्य नबुझि दार्चुला घटनाका विषयमा समाचार सम्प्रेषण गरिरहेको संकेत गरेको छ । भारततर्फबाट छानबिन समितिलाई कुनै अवरोध नभएको समेत गौतमको उक्त स्ट्याटसले पुष्टि गर्ने आधार देखिएको छ ।

एक साता दार्चुलामै बसेको समितिले उक्त घटनाको नेपाल भारत दुवैतर्फबाट स्थलगत निरीक्षण गरेको थियो ।

छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक पूरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन् । यही साउन १५ गते तुइनबाट नदी तर्ने क्रममा धामी बेपत्ता भएका थिए ।

विशेष