News

ओलीले तयार पारे असन्तुष्ट समुहका नेताहरुको राजनीतिक डीएनए ! 

ओलीले तयार पारे असन्तुष्ट समुहका नेताहरुको राजनीतिक डीएनए ! 

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पुर्वप्रधानमन्त्री एवम् आफनै पार्टीका अध्यक्ष केपी ओलीको कार्यशैलीलाई चित्रण गर्दै भनेका थिए– ‘खकारसमेत परिक्षण गरी आफ्नो डीएनए हो भन्ने ग्यारेन्टी भएपछि मात्र जिम्मेवारी दिने संकीर्णता सोच छ ।’

ओली विरुद्ध यतिसम्म वोलेका उनै भुसाल नेता माधवकुमार नेपालको साथ छाडेर केपी ओलीसँग सौदाबाजीमा छन । रोचक त के छ भने ओलीको डीएनए परिक्षणमा उनी फेरी अनुत्तीर्ण भएका छन । भोलिको एमाले आफनै हुने निस्कर्षसहित विद्रोह नगरी सकेका भुसाललाई ओलीले ‘खिल’को संज्ञा दिएका छन । उनले अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराईबाहेकका नेता बाहिरै रहेपनि हुने भन्ने मनशाय राखेका छन ।

लामो समयसम्म माधवकुमार नेपाल समुहमा रहेका तर नेपालले नेकपा (एकिकृत समाजवादी) पार्टी गठन गरेपछि त्यता जान नसकेका नेताहरु अहिले ओलीसँग सामुहिक सौदावाजीमा छन् । तर, ओलीले भने कुन नेताको आफुलाई आवश्यक्ता छ र कुन नेताको आवश्यक्ता छैन भनेर हरेकको ‘डिएनए रिपोर्ट’ तयार पारेर वसेको उनी निकट नेताहरु वताउँछन् । 

ओलीका अनुसार युवराज ज्ञवाली ‘मरिच’जस्तो कुण्ठाले चाम्रिएका छन् । आफनै सोचका कारण उनको प्रभाव कनिष्ठ नेता शंकर पोखरेलको भन्दा कम छ । जनसम्बन्ध कमजोर भएकाले उनी एमालेमा आउनु र नआउनुमा तात्विक फरक छैन ।

ओलीको नजरमा अष्टलक्ष्मी शाक्य ‘आरिसे’ तर पार्टीलाई चाहिने नेता हुन । बिद्यादेवी भण्डारीलगायतको आरिश गर्ने नेताको रुपमा उनको पहिचान वनेको छ। उनले आफु पछि परेकोमा तुस पालेर वसेको ओलीको निस्कर्ष छ। तर, उनी काठमाण्डौको नेवार समुदायकी भएकीले पार्टीकी गहनाको रुपमा छिन् । 

भीम रावल ‘लिँडे’ र वामदेव प्रवृत्तिका नेता हुन । बामदेब गौतमकै स्वभाबसँग उनको स्वभाव लगभग मिल्छ । कुनै विषयमा उत्कर्षमा पुग्ने तर एकाएक धार परिवर्तन गर्ने उनको स्वभाव छ। खहरे प्रवृति भएकाले कुन बेला आफुमाथि आइलाग्ने हुन भन्ने दुविधा रहिरहने ओलीको वुझाई छ । रावल भोलीका दिनमा पनि आलोचक रहन सक्ने तर फकाउन सके उपयोग गर्न पनि सहज हुने ओलीको विस्लेषण छ।

घनश्याम भुसाल ‘काउसो’ जस्तो नेतामा परेका छन् । रावल माधवकुमार नेपालका मानसपुत्र, गफैले खाने र १०औँ महाधिबेशनमा गुट बनाएर चुनौति दिन सक्ने नेता हुन । ईश्वर पोखरेल वा सुभास नेम्वाङ अध्यक्ष र भुसाल महासचिवको उम्मेदवार हुँदा आफूलाई चुनौति हुने खतरा ओलीले देखेका छन्। 

गोकर्ण विष्ट ‘ताक परे तिवारी नत्र गोतामे’। उनी झलनाथ खनालको प्रिय पात्र र माधवकुमार नेपालका दाहिने हात हुन । तर, पछिल्लो समय उनले आफनो पहिचान अनुसारको काम देखाउन सकेका छन् । अहिले उनी ‘के न के’ को अवस्थामा बीच–बीचमा रहेर कुरा गर्ने, मिडियाबाजीमा रमाउने गरेका छन् । ओलीको डिएनएमा उनी पार्टीलागि खासै आवश्यक मान्छे होईन् ।

योगेश भट्टराईलाई ओलीले ‘बैगुनी भएनी मायालु केटो’ को रुपमा अथ्र्याएका छन् । जन्मथलो एउटै भएकाले पनि योगेशप्रति ओलीको मोह छ। मिलनसार भएकाले भोलिका दिनमा उती साह्रो नपिर्ने सम्भावना ओलीले देखेका छन् । माधव समुहमा योगेश मार्फÞत नै चलखेल गर्न सकिएकोमा पनि ओलीको ‘दिल खुस’ भएको छ। 

ओलीको नजरमा भीम आचार्य ‘लोभी र हुकुमी’ नेता हुन । भीम आचार्यलाई ल्याउनु भन्दा नल्याउदा नै फाइदा हुने उनको विश्लेषण छ। आचार्य मुख्यमन्त्रीको आशमा आफूतिर निकट भएको तर जनसम्पर्क र कार्यकर्तामा पकड नभएको उनलाई ल्याउँदा आफनै पनि टाढिनेमा ओली शसंकित छन् । 

सुरेन्द्र पाण्डे ‘तरुप र गोटी’ बन्नसक्ने । पहिला झलनाथ खनाल र पछि नेपालनिकट रहेपनि आफ्ना विरुद्धमा कम लागेको तथा भोलिका दिनमा शुभाष नेम्वाङ र ईश्वर पोखरेललाई तर्साउनका लागि उपयोगी हुन सक्ने ओलीको अनुमान छ। पुरानो भैकन पनि भाउ नपाएका कारण सामान्य भाउ दिए आफ्नो गोटीका रुपमा परिचालन गर्न सक्ने ओलीले मुल्यांकन गरेका छन् । चितवनमा प्रचण्डका विरुद्ध खडा गर्न काम लाग्ने नेता भएकाले ओलीका लागि पाण्डे कामका नेतामा परेका छन् ।

रघुजी पन्त ‘तित्रो’ जस्तो वोल्ने तर जनसम्पर्क सुन्यप्रायः नेता हुन । उनले बोलेर आफुलाई नडस्नेमा ओली ढुक्क छन् ।

यसरी आफनो कृयाकलापका कारण असन्तुष्ट भएका तर, पार्टी फुटेपछि अन्त जान नसकेर सौदावाजी गरिरहेका नेताको नाडी छामेका ओलीले शाक्य, भट्टराई र पाण्डेबाहेकका नेता नआएपनि केही छैन भन्ने गरेका छन । उनले अरुलाई भाउ नदिन आफूनिकटका नेताहरुलाई सुझाएका छन । सोही मनशायका कारण ओलीले सामुहिकरुपमा सौदाबाजी नगर्ने जवाफ दिएको एक नेताले वताए ।

सामुहिकरुपमा आउदा आफूविरुद्ध स्थाई गुट रहने र भोलिका दिनमा समस्या भइरहने ओलीको आंकलन रहेको ति नेताले नेपाल आजसँग सप्रसंग व्याख्या गरे । अरु ‘आए आउन, नआए नआउन’ भन्ने हिसाबले ओलीले जाल फ्याकेको नेताहरुको वुझाई छ।

यो पनि

नयाँ पार्टीमा लागेपछि आफनै क्षेत्रवासीले छोडे झलनाथ खनालको साथ

ओलीले सामुहिक सौदावाजी अस्विकार गरेपछि मध्यमार्गी समुह अलपत्र !

नेकपा एमाले घनश्याम भुसाल केपी शर्मा ओली डीएनए माधवकुमार नेपाल सौदाबाजी

विशेष