News

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेका चाँदीको मुकुट (मस्तक) चोरी गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी मुकुट चोरी गरेको आरोपमा पक्राउ परेका सप्तरीको विष्णुपुर गाउँपालिका–५ मझौउका लक्ष्मण मण्डलका २३ वर्षीय छोरा राजेशकुमार मण्डललाई सार्वजनिक गरेको हो ।

पक्राउ परेका मण्डलको मानसिक अवस्था सुस्त रहेको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार गाउँमा एक जनाले भगवतीको मुकुट लिएर हिँडिरहेको भनी प्रहरीलाई  खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी टोली पारिचाल गरी छिन्नमस्ता भगवतीको मुकुटसहित मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका मण्डलका साथबाट चाँदीको जस्तो देखिने धातुमा देवीको अनुहार अङ्कित मुकुट र मुकुटमा अङ्कित देवीको नाकमा सुनको जस्तो देखिने धातुको नथिया र निधारमा सुनकै जस्तो देखिने टीकासमेत करिब ५०८ ग्राम तौल रहेको जनाइएको छ । मुकुट चोरी गर्ने मण्डललाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक धमलाले बताए।

सप्तरी सदरमुकाम राजविराजदेखि करिब १३ किलोमिटर दक्षिण भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा अवस्थित छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको चाँदीको मुकुट (मस्तक) आइतबार साँझ चोरी भएको थियो ।

मुकुट चोरी भएको घटनालगत्तै सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक धमला र सशस्त्र प्रहरीका प्रमुखलगायतका टोली परिचालन गरी मुकुट खोज्नका लागि भारतीय सीमा नाकासमेत सिल गरिएको थियो । 

छिन्नमस्ता भगवती मन्दिर मुकुट चोरी

विशेष