News विदेश

विदेशी सेना र पुर्ववर्ती सरकारका सहयोगीलाई तालिवानको खतरा

विदेशी सेना र पुर्ववर्ती सरकारका सहयोगीलाई तालिवानको खतरा

गत आईतवार अफगानिस्तानलाई कब्जामा लिएपछि विद्रोही समुह तालिवानले विदेशी फौज र पुर्ववर्ती सरकारका सहयोगीहरुविरुद्ध वद्ला लिन थालेको छ ।

उसले विदेशी शक्ति र पूर्ववर्ती सरकारमा रहेर काम गरेका सबैलाई आममाफी दिने बताएपनि ब्यवहारमा भने त्यो देखिएको छैन । 

संयुक्त राष्ट्रसङ्घको एउटा दस्तावेजमा तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरूको घरघरमा पसेर खोजी गरिरहेको छ भने तिनका परिवारलाई धम्क्याउने काम गरिरहेको छ ।

तालिवानले केहि दिनअघि कसैसँग कुनै पनि बदला नलिने भन्दै आश्वस्त पार्ने कोसिस गरेको थियो। तर अहिले पनि सन् १९९० ताकाको तालिबानमा सामान्य मात्र परिवर्तन आएको जस्तो देखिएकाले त्रास पैदा भएको छ।

राष्ट्रसङ्घका लागि गोप्य सूचना सङ्कलन गर्ने आरएचआईपीटीओ (रिप्टो) नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य दस्तावेजमा यो कुरा खुलाईएको छ ।

तालिबानको खोजि सूचीमा रहेकाहरू एकदमै धेरै खतरामा रहेको र अफगानिस्तानमा आमहत्या हुनसक्ने चेतावनी पनि दिइएको छ ।

अफगानिस्तानका कतिपय सहरहरूमा तालिबानविरोधी प्रदर्शन भएका छन्। राजधानी काबुलमा प्रदर्शनकारीले अफगानिस्तानको राष्ट्रिय ध्वजा लिएर प्रदर्शन गरेका छन्। असादाबादमा चाहिँ प्रदर्शनकारीहरूमध्ये केही मारिएको खबर छ।

काबुल विमानस्थल बाहिर अवस्था अस्तव्यस्त नै रहेको छ। तालिबानले भाग्न खोज्ने अफगानहरूलाई रोकिरहेको छ।

२० वर्षअघि अमेरिकी नेतृत्वको फौजले उक्त समूहलाई सत्ताच्यूत गराइदिएको थियो।

पहिले शक्तिमा रहँदा तालिबानले सार्वजनिक स्थलमा मृत्युदण्ड दिने र महिलाहरूलाई पढ्न तथा काम गर्न नदिनेजस्ता गतिविधि गरेको थियो।

तर यसपटक काबुलमा नियन्त्रणपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले इस्लामिक कानुन अन्तर्गत नै महिलाको अधिकारलाई सम्मान गर्ने बताएका थिए।

बीबीसीको सहयोगमा

तालिवान

विशेष