News राजनीति

‘अष्टसांसद’ को चेपुवामा अष्टलक्ष्मीः मुख्यमन्त्री पद धरापमा 

‘अष्टसांसद’ को चेपुवामा अष्टलक्ष्मीः मुख्यमन्त्री पद धरापमा 

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको समर्थनमा नेतृ अष्टलक्ष्मी शाक्य गत वुधवार वाग्मती प्रदेशको मुख्यमन्त्री वनिन् । तर, त्यही मुख्यमन्त्री पद अहिले उनका लागि ‘भिरको चिण्डो’ जस्तो भएको छ ।

लामो समयदेखि नेता नेपाल पक्षमा रहेकी शाक्य पार्टीभित्रको विवाद समाधानका लागि भन्दै डोरमणि पौडेलको प्रस्तावमा मुख्यमन्त्री वनिन्। शनिबार राजधानीमा ओली पक्षको रामेछाप–काठमाडौं सम्पर्क कमिटीको बैठकलाई सम्बोधन पनि गरिन । यी प्रकरणपछि शाक्य ओली कित्तामा पुगेको आशंका पनि गरियो । तर, त्यसको भोलीपल्ट नै उनी सवैलाई चकित पार्दै तेस्रो धारमा उभिईन । 

सत्ता जोगाउन दुवै डुङ्गामा खुट्टा राखेपनि उनका लागि त्यो निरर्थक सावित भएको छ । पार्टी एकताका लागि भन्दै तेस्रो धार निर्माण गरेको नेपाल समर्थकहरूले मंगलबारसम्ममा १० बुँदे सहमति कार्यान्वयन गर्ने अल्टिमेटम अध्यक्ष ओलीलाई दिएका छन् । उक्त अल्टिमेटममा शाक्यको पनि सहमति छ । ओलीले अल्टिमेटममा वास्ता नगरे त्यसपछि के गर्ने भन्नेमा मध्यमार्गी नेताहरु नै स्पष्ट छैनन् । 

एमाले विभाजनका कारण उत्पन्न परिस्थितीले उनलाई आफ्नो सरकार टिकाइराख्न फलामको च्युरा चपाउनु सरह भएको छ । यदी सरकार टिकाई राख्ने हो भने उनले अव नेपाल पक्षको नेकपा (एकिकृत समाजावदी) तर्फ जानु पर्ने अवस्था आएको छ ।

१०९ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ५६ सांसद छन् । सरकार निर्माणमा सभामुखको मत प्रयोग हुँदैन । तीमध्ये अहिले ८ जना नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा खुलिसकेका छन् । सरकार गठनको प्रकृया सुरु भए त्यो संख्या १२ सम्म पुग्ने उनीहरुले दावी गरेका छन् । 

सरकार बहुमतमा हुन ५५ जना सांसद चाहिन्छ  । त्यसैले शाक्यका लागि सरकार जोगाउन नेपाल समूहमा लागेर कांग्रेस, माओवादीको गठबन्धनमा लाग्नुको विकल्प पनि देखिएको छैन । यदि उनी एमालेमै बस्न चाहे प्रदेशसभा भित्र एमालेको एकल बहुमत गुम्ने स्थिति छ । जसका कारण सत्ताबाट बाहिरिनुपर्ने अवस्था आउन सक्छ ।

शाक्यमाथि अहिले नेपाल नेतृत्वका नेताहरूले आफ्नो पक्षमा खुल्न दबाब पनि दिइरहेका छन् । यदि त्यसो नभए एकिकृत समाजवादीका सांसदले उनलाई समर्थन नगर्ने अवस्था आउने छ।

शाक्य एमालेमै रहने अवस्था आए नयाँ दल दर्ता भएपछि प्रदेशमा कांग्रेस र माओवादीसहितको गठबन्धन बनाएर राजेन्द्र पाण्डेलाई कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री बनाउने योजना समेत अघि वढेको नेपाल पक्षका सांसदहरु वताउँछन् ।

केपी शर्मा ओली माधवकुमार नेपाल अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेश

विशेष