News

एमालेको अवरोधकै विच मुख्यमन्त्री केसीले विश्वासको मत लिने 

एमालेको अवरोधकै विच मुख्यमन्त्री केसीले विश्वासको मत लिने 

नेकपा एमालेको अवरोधका विच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले यो विषयलाई कार्यसूचीमा राखेसँगै सोमबार नै यो विषय निर्णयार्थ पेस हुने भएको हो ।

मुख्यमन्त्री केसीले ३२ साउनमा प्रदेशसभामा विश्वासको मत लिने सूचना दर्ता गराएका थिए । तर, प्रतिपक्षी नेकपा एमालेले लगातार बैठक अवरुद्ध गर्दै आएकाले सो विषय कार्यसूचीमा चढेको थिएन ।

सोमबार भने सभामुख पूर्णबहादुर घर्तीले आफ्नो अधिकार प्रयोग गर्दै प्रक्रिया अगाडि बढाएका हुन् । 

संविधानको धारा १६८ उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थनमा केसी गत २८ साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यता, नेकपा एमालेले प्रदेशसभाको बैठक आज चौथो पटक पनि अवरुद्ध गरेको छ । सांसद अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई दबाब दिँदै एमालेले प्रदेशसभा बैठक पटक पटक अवरुद्ध गर्दै आएको छ।

आजको बैठकमा सभामुखले प्रदेशको नाम सुधारसम्बन्धी विधेयक पेश गर्न मुख्यमन्त्रीको तर्फबाट ग्रामीण तथा शहरी विकासमन्त्री डिल्ली चौधरीलाई अनुमति दिएका थिए । लगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाए। 

प्रदेशसभा सचिवालयमा दलीय प्रभाव देखिएको भन्दै एमाले सांसदले नाराबाजी गरेपछि केहि छिन स्थगित गरेर वैठक फेरि शुरु भयो। तर, उनीहरुले विरोध जारी राखेका छन् ।

एमालेले आफ्ना दुई सांसदलाई पार्टीको विधान, आचारसंहिता तथा अनुशासनविपरीत काम गरेको भन्दै कारबाही गरिएको र पदमुक्त गर्न अनुरोध गरिएको पत्र प्रदेशसभालाई पठाएकोमा प्रदेशसभा सचिवालयले सांसदहरुलाई कारबाहीको आधार नदेखिएको भन्ने व्यहोरोका पत्र पठाएपछि एमालेले संसद बैठक अवरुद्ध पार्दै आएको छ । 

लुम्बिनी प्रदेश विश्वासको मत नेकपा एमालेको अवरोध कुलप्रसाद केसी

विशेष