News अपराध सुरक्षा

रौतहटका एसपी साहलाई हेडक्वाटर तान्ने तयारी, लागु औषध प्रकरणमा भुमिका शंकास्पद

रौतहटका एसपी साहलाई हेडक्वाटर तान्ने तयारी, लागु औषध प्रकरणमा भुमिका शंकास्पद

पत्रकारको मोटरसाईकलमा लागुऔषध राखेर फसाउन खोजिएको प्रकरणमा जिल्ला प्रहरी प्रमुखकै भूमिका शंकास्पद देखिएपछि रौतहटका एसपी सिद्धिविक्रम साहलाई जिम्मेवारीवाट हटाउने तयारी भएको छ।

घटनाको छानबिन गर्न समिति गठन गरेपछि साहलाई प्रारम्भिकरुपमा त्यहाँबाट हटाउने तयारी भएको हो। प्रहरी प्रधान कार्यालयका प्रवक्ता बसन्त कुँवरले बुधबारसम्म साहलाई त्यहाँबाट फिर्ता बोलाइने बताए।

प्रहरी प्रधान कार्यालयले उजुरी छानबिन शाखामा कार्यरत एसएसपी कृष्ण महतको संयोजकत्वमा कानुन शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेत, साइबर ब्युरोका डीएसपी दिनेश जोशी र उजुरी छानबिन शाखाका इन्सपेक्टर राजु कार्की सदस्य रहेको छानविन समिति समेत गठन गरेको छ ।

उक्त घटनामा प्रहरी प्रमुख साहको निर्देशनमा प्रहरीले नै पत्रकारलाई फसाउन खोजेको पाईएको छ । पत्रकार श्रवण देवका अनुसार अनुसन्धानमा प्रहरी दोषी देखिएपछि एसपी साहले अर्काे पत्रकारलाई पनि फसाउँन खोजेका छन् । तर, पत्रकारहरुले नै गरेको खोजतलासमा फेला परेको अडियो रेकर्डले घटनामा एसपी नै संलग्न देखिएको उनले जानकारी दिए ।

‘अब किन एसपीले ती पत्रकारलाई लागूऔषधमा फसाउँन खोजे, त्यसको अनुसन्धान माथिल्लोस्तरबाट हुनु जरुरी छ’ पत्रकार महासंघ सप्तरीका अध्यक्ष समेत रहेका देवले भने–‘दोसी एसपीलाई कार्वाही गर्नु जरुरी छ । एसपीको निर्देशनमा गलत काम गर्ने असई र जवानलाई पनि कार्वाही हुनु आवश्यक छ ।’ 

जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत असइ उदय यादव र जवान मनोज साहले ३२ साउनमा स्थानीय अनलाइनका पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाईकलमा नाइट्राभेट नामको लागुऔषध राख्न लगाएको सिसिटिभी फुटेज सार्वजनिक भएको थियो । असई यादव र जवान साह दुवै घुमुवा प्रहरी हुन् ।   

मोटरसाइकलमा लागुऔषध लुकाउन असइ यादव र जवान साहले स्थानीय धिरज यादव र जितेश यादवलाई प्रयोग गरेका थिए। त्यस लगत्तै मोजिबुल्लाहलाई पक्राउ गरिएको थियो ।

तर, शनिबार सार्वजनिक भएको फुटेजमा पक्राउ पर्नुभन्दा केही समयअघि पत्रकार र उनका साथी होटेलमा खाजा खान पसेका वेला असइ यादव र जवान साहको प्रत्यक्ष उपस्थितिमा दुई युवाले मोटरसाइकलमा लागुऔषध लुकाउँदै गरेको देखिएपछि प्रहरीको चरित्र सार्वजनिक भएको थियो ।

पत्रकारको मोटरसाईकलमा लागुऔषध एसपी सिद्धिविक्रम साह

विशेष