News राजनीति

यस्तो हुने भयो माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टीको संरचना

यस्तो हुने भयो माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टीको संरचना

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ ।

चन्द्रगिरीमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विधानअनुसार अध्यक्ष, वरिष्ठ नेता १, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, ७ सचिव गरी १७ पदाधिकारी हुनेछन् । उनीहरुसहित ११५ पूर्ण र ३६ जना वैकल्पिक केन्द्रीय सदस्य हुनेछन् ।

महाधिवेशन नहुँदासम्म केन्द्रीय कमिटीका पदाधिकारी राष्ट्रिय परिषदबाट निर्वाचित गर्ने व्यवस्था विधानमा गरिएको छ ।

पार्टीमा ८ वटा केन्द्रीय निकायको प्रस्ताव गरिएको छ । जसमा राष्ट्रिय महाधिवेशन, राष्ट्रिय परिषद, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च रहने छन् । 

केन्द्रीय अनुसाशन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग सबै ३१ सदस्यीय हुने प्रावधान विधानमा समेटिएको छ । 

प्रत्येक पाँच वर्षमा महाधिवेशन गर्ने, दुई महाधिवेशनबीचको पार्टीको सर्वोच्च नीति निर्माता संस्थाको रुपमा महाधिवेशनले राष्ट्रिय परिषद् निर्वाचित गर्ने व्यवस्था पनि गरिएको छ । 

पार्टीको प्रदेश निकायहरूमा प्रदेश÷विशेष अधिवेशन, प्रदेश÷विशेष परिषद्, प्रदेश÷उपत्यका विशेष प्रदेश÷सम्पर्क समन्वय कमिटी र प्रदेश आयोगहरूको प्रस्ताव गरिएको छ । 

प्रदेश कमिटीमा अध्यक्ष–१, उपाध्यक्ष–२, सचिव–१ उपसचिव–२ र सदस्यहरू रहेको प्रदेश कमिटी रहने व्यवस्था गर्न लागिएको छ । प्रदेश कमिटीको कुल सदस्य संख्या प्रदेशमा जति प्रदेशसभा सदस्य निर्वाचित छन् त्यति र थप १५ जना रहने व्यवस्था प्रस्ताव गरिएको छ । 

उपत्यका विशेष प्रदेश कमिटी ७१ सदस्यीय प्रस्ताव गरिएको छ । 

नेकपा (एकीकृत समाजवादी)ले मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवादलाई बनाएको छ । पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्तलाई मान्ने भएको छ । 
पार्टीको अन्तरिक विधान, नियमावली र घोषणापत्र टुंगो लगाउन पार्टीका नेताहरू चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा बैठक बसिरहेका छन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टी

विशेष