News राजनीति

मध्यमार्गी नेतालाई ओलीको कटाक्ष– चोक्टा खान गएकी वुढी झोलमा डुबेर मरी

मध्यमार्गी नेतालाई ओलीको कटाक्ष– चोक्टा खान गएकी वुढी झोलमा डुबेर मरी

एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल केन्द्रीय सदस्य र सांसदलाई ‘सुरक्षित राख्न’ मंगलवार चन्द्रागिरी रिसार्ट चढ्दै गर्दा उनको साथ छोडेका मध्यमार्गी नेता भने अध्यक्ष केपी शर्मा ओली निवास वालकोटमा थिए ।

नेपाल समुहका नेता तथा सांसदहरु प्रस्तावित नेकपा (एकिकृत समाजवादी) पार्टीको आगामी कार्यदिशा, नीति, विचार, सांगठनिक गतिविधिको टुंगो लगाउन चन्द्रागिरी चढे। तर, उनको साथ छोडेका नेताहरु भने ओलीसँगको वार्ताका नाममा एमालेमै विलय हुने वहाना खोज्दै थिए ।

नेता नेपालले ओली सुध्रिएर आए भविष्यमा पार्टी एकता हुन सक्ने बताई रहेका छन् । तर, एमाले छोडेर मध्यमार्गी भनिएका नेताहरु भने १० वुँदे सहमति कार्यान्वयन भए एमालेमा वस्न सकिने मनस्थितीमा छन् । 

यसैक्रममा नेता नेपालको साथ छोडेका नौ जना स्थायी कमिटी सदस्यहरूले अध्यक्ष ओलीसँग दशबुँदे सहमति कार्यान्वयनको विषयमा वार्ता गरेका छन् ।सोमबार चार घण्टाभन्दा लामो सम्वाद गरेका उनीहरुले ओलीसँग दशबुँदे सहमति कार्यान्वयन प्रतिबद्धता खोजेका थिए । ओलीले उक्त कुरामा सहमति जनाएपछि सहमति कसरी कार्यान्वयन गर्ने भन्नेबारे विषयमा छलफल गर्न आजका लागि स्थायी कमिटी बैठक वोलाईएको छ ।

सहमति कार्यान्वयनको प्रस्ताव तयार पार्ने जिम्मा भने उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णुप्रसाद पौडेललाई दिइएको छ ।

तीन नेताले ल्याउने प्रस्ताव र त्यसको कार्यान्वयन प्रक्रियाआधारमा थप निर्णय लिने नौ नेताको तयारी छ । 

२ भदौमा एमालेबाट अलग भएर माधव नेपालले नयाँ दल दर्ता गराउँदा तीन उपाध्यक्ष (युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल), उपमहासचिव घनश्याम भूसाल, तीन सचिव (गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराई) अनि स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्तले साथ दिएका थिएनन् ।

माधव नेपालको साथ छोडेका यी नेताहरुले एमाले एकता जोगाउन २७ असारमा जुटेको दशबुँदे सहमति कार्यान्वयन गर्न अल्टिमेटमयुक्त विद्रोहको चेतावनी दिएका थिए । उनीहरुको अल्टिमेटम ९ भदौ अगाडि दशबुँदे सहमति कार्यान्वयन गरिनुपर्ने, माधव नेपाल सहित १४ सांसदलाई गरिएको कारबाही फिर्ता हुनुपर्ने र निर्वाचन आयोगबाट दल दर्ता प्रक्रिया रोक्नुपर्ने थियो ।

२ जेठ २०७५ को अवस्थामा एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनेगरी आउने दशबुँदे सहमति कार्यान्वयनको प्रस्ताव र कार्यान्वयन गर्ने निर्णयले बाँकी रहेको एमाले जोगिने वा नजोगिने तय हुने मध्यमार्गी नेताहरुको भनाई छ ।

तर, अध्यक्ष ओलीले भने सोमवारको छलफललाई मध्यमार्गी नेताले घुँडा टेकेको रुपमा ब्याख्या गर्न थालेका छन् । मध्यमार्गी नेताहरुसँगको छलफल लगत्तै आफु निकटका नेताहरुसँग उनले यस प्रकारको अभिब्यक्ति दिएका हुन ।

ओली निकटका नेताहरु सुर्य थापा, गोकुल बास्कोटालगायतले ‘मध्यमार्गीको नौटंकी वन्द गरेर आफ्नो बाटो लाग्नु’ भन्दा पनि उनीहरु वैठक र छलफलका घुस्रिन आउनुले पनि ओलीले त्यसको प्रकारको अभिब्यक्ति दिएको हुन सक्ने वताईन्छ।

ओलीले झुकेर आएको भन्दै हाँसो–मजाक गर्दै उनीहरुलाई उडाएको एक नेता वताउँछन् । ओलीको यो प्रवृत्ति वुझेका नेता नेपालले भने वार्ता र सहमतिको भ्रममा नपर्न र कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन आग्रह गरेका छन्।

पटक–पटकका बेइमानी एवम् धोखाको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएको भन्दै उनले यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन उनले आग्रह गरेका छन् ।

माधवकुमार नेपाल मध्यमार्गी नेता केपी शर्मा ओली नेकपा (एकिकृत समाजवादी) पार्टी चन्द्रागिरी रिसार्ट वालकोट

विशेष