News राजनीति

ओलीजस्ता धुन्धुकारी सच्चिन्छन् भन्नेमा मलाई चाहिँ विश्वास छैनः विरोध खतिवडा

ओलीजस्ता धुन्धुकारी सच्चिन्छन् भन्नेमा मलाई चाहिँ विश्वास छैनः विरोध खतिवडा

प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य विरोध खतिवडाले तत्काल केपी शर्मा ओलीसँग आत्मसमर्पण गर्न गएका नेतापनि केहि समयपछि नै माधव नेपालसँगै फर्किने वताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका कटु आलोचक रहेका खतिवडाले तेस्रो धार निर्माण गरेर बसेका पदाधिकारी र स्थायी कमिटी सदस्यहरु पार्टी एकढिक्का बनाउने प्रयत्नमा रहेको र नयाँ पार्टी दर्ता प्रक्रियामा छुटेको वताए । ‘केपी ओलीलाई सच्याउन सकिन्छ कि भनेर उहाँहरु लाग्नु भएको हो । तर, ओलीजस्ता धुन्धुकारी सच्चिन्छन् भन्नेमा मलाई चाहिँ विश्वास छैन’ उनले भने–‘उहाँहरुलाई विश्वास लागेको होला । तर, मलाई चै छैन ।’

ओलीले उनीहरुको ‘खिल’ को संज्ञा दिएको खतिवडाले स्मरण गरे । ‘उहाँहरुलाई पनि ओलीले भनिसक्नुभयो नी ‘पिलो त निचोरियो, खिलहरु बाँकी नै रह्यो’ उनले थपे–‘हेर्न बाँकी छ उहाँहरु खिल भएर ओलीसँग बस्नु सक्नुहोला ? मलाई त विश्वास लाग्दैन । नयाँ पार्टी दर्ता हुने पेरिफेरिमा उहाँहरु हामीसँगै आउनुहुन्छ ।’

जति प्रयत्न गरेपनि उनीहरुको ओलीतिर जाने त बाटै बन्द भएको भन्दै आफुहरुतिर नआएर केही मान्छेहरु सामान्य नागरिक भएर बस्न सक्ने सम्भावना उनले देखाए । ‘जस्तो कि, घनश्याम भुसाल किताब लेखेर बसिदिनुभयो वा रघुजी पन्तहरु लेख लेखेर बस्न सक्लान् । तर, उहाँहरु पनि ओलीतिर त टिक्न सक्नुहुन्न’– खतिवडाले भने ।

ओलीले माधव नेपाल र उनको टिमलाई मात्र होईन आफनै टिमका नेताहरुलाई समेत धोका दिने र झुठो वोल्ने गरेको खतिवडाको भनाई छ। ‘तत्कालीन कार्यदलका सदस्यको रुपमा सुवास र विष्णुहरुले माधव कमरेडलाई भेटिरहनु भएको थियो । त्यसबेला सुवास र विष्णु कमरेडले एउटा गज्जबको खबर ल्याउनुभयो । अब पार्टी एकता हुने र १० बुँदे पूर्ण कार्यान्वयन हुने । त्यसका लागि बराबर हैसियतको दुई अध्यक्ष मानेर माधव कमरेडलाई अध्यक्ष बनाउन ओली तयार भएको खबर थियो त्यो’ उनले भने–‘माधव कमरेडले त्यो कुरा मान्नु भएन । उहाँले जवाफ दिनुभएको थियो म पदको लोभी होइन, अध्यक्ष चाहिँदैन, वरिष्ठ नेता नै ठीक छु । त्यसरी अध्यक्ष नै बनाउने हो भने युवराज ज्ञवाली वा अष्टलक्ष्मीलाई बनाउनुस् । त्यसरी समान हैसियत र हस्ताक्षर चल्ने गरी पार्टी मिल्छ भने हुन्छ भन्नुभयो ।’

सुवास नेम्वाङ र विष्णु पौडेलले ‘त्यसो नभन्नुस्, तपाईले नाइँ नभन्नुस् । अष्ट र युवराजहरुले हुँदैन । तपाईं चुप लागेर यो कुरा मानिदिनुस्, तपाई हामीहरु सबैको अभिभावक हुनुहुन्छ । बाँकी कुरा हामी मिलाउँला । यसमा इग्नोर गर्ने काम नगर्नु्स्’ भनेपछि माधव नेपाल मौन वसेको उनले जानकारी दिए । माधव नेपाललाई मनाएर उनीहरु ओलीलाई त्यो कुरा सुनाउँदा जाँदा ‘त्यसरी कहाँ हुन्छ ? त्यो मिल्दैन । त्यो पुरानो कुरा हो । तीन दिनअघिको कुरा हो त्यो’ भन्दै टक्टकिएको उनले सुनाए ।

‘ओलीको त्यो कुराले सुवास र विष्णु कालो निलो हुनुप¥यो । हो यस्तै तरिकाका कारण ओलीप्रति हामीहरुको मात्रै होइन, उहाँकै मान्छेहरुको पनि विश्वास घट्दै गएको छ’–उनले भने।

खतिवडाले अस्टलक्ष्मी शाक्यको प्रशंगमा पनि अन्य नेताकै कुरा लागु हुने वताए । ‘नयाँ पार्टी नबनिसकेको सन्दर्भमा उहाँ केपी र माधव नेपालकै सल्लाहमा मुख्यमन्त्री बन्नुभएको हो । यसमा केपी ओलीको छलकपटपूर्ण स्वार्थ र माधव नेपालको बाध्यता देखिन्छ’ उनले भने–‘१ महिना प्रतिक्षा गरौं थाहा भइहाल्छ । उहाँ ओलीतर्फ लाग्नुभएको र प्रतिगमनको मतियार बन्न खोज्नुभएको हो भने उहाँलाई हटाइन्छ । माधव नेपालको पनि केपी ओलीको पनि साझा हुँ भनेर धेरै समय टिक्न सकिन्नँ । तर, उहाँ पनि केपी ओलीले भनेको खिलअन्तर्गत पर्नुहुन्छ ।’

विरोध खतिवडा नेकपा (एकीकृत समाजवादी)

विशेष