News राजनीति

थाके भीम तर थाकिनन लक्ष्मी !

थाके भीम तर थाकिनन लक्ष्मी !

गत जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद विघटन गरेपछि त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भयो । 

प्रतिनिधिसभा विघटन बदर र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै दर्ता भएको रिटमा प्रतिनिधिसभाका १ सय ४६ सांसदले हस्ताक्षर गरे । जसमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चालगायत नेकपा एमालेको माधवकुमार नेपाल समुहका २३ सांसद पनि सहभागि थिए ।

जसमा एमाले माधव समुहका २३ मध्ये पनि ५ सांसद सुदुपश्चिम प्रदेशका हुन । रिटमा हस्ताक्षर गर्नेमा सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने अछामका भीम रावल, कैलाली क्षेत्र नम्बर २ का झपट रावल, कन्चनपुर क्षेत्र नम्बर ३ का दिपक प्रसाद भट्ट, समानुपातिक सांसदहरु लक्ष्मी चौधरी कैलाली  र निरादेवी जैरु (डडेल्धुरा) छन् । 

उनीहरूको माग बमोजिम सर्वोच्चले २८ असारमा प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो। सर्वोच्चले सात दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन पनि आदेश दियो।

त्यससँगै देउवालाई विश्वासको मत दिँदा कारबाही गर्न नपाउने आदेश पनि माग गरेका थिए। सर्वोच्चले उनीहरूको माग बमोजिम नै कारबाही गर्न नपाउने आदेश दियो। तर, सर्वोच्च पुगेका एमालेका २३ सांसदमध्ये १० सांसदले प्रतिनिधि सभामा भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएनन्।

उनीहरूले एमालेको एकता जोगाउन विश्वासको मतको प्रस्तावमा सहभागी नहुने जनाएका थिए। प्रतिनिधि सभा बैठकमा उपस्थित भए पनि मतदान हुनुभन्दा केही बेरअघि बाहिरिएका थिए। एमाले उपाध्यक्ष समेत रहेका सांसद भीम रावलले त सांसदबाट राजीनामा दिए। तर, सोहि प्रदेशवाट हस्ताक्षरमा सहभागि भएका लक्ष्मी चौधरीहरु भने माधवको पक्षमा लागेर मैदानमा डटिरहे। उनीहरुले नेता नेपाललाई साथ दिदै देउवालाई विश्वासको मत दिए ।

लक्ष्मीले भीम रावलले जस्तो केपी विरुद्ध उग्र बोलिनन, न त माधब नेपाललाई दल बिभाजनका लागि उक्साईन । जब माधवकुमार नेपाल अघि बढे, योद्धा भनिएका भीमले गदा विसाए । शालीन भनिएकी लक्ष्मी मैदानमा अघि बढिरहिन। 

माधवकुमार नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि दिएको निवेदनपछि आयोगले सवैलाई सनाखतका लागि वोलायो । आयोगमा सनाखत गर्न जानु अघि आगामी यात्राको संकेत दिने गरी लक्ष्मीले ‘माई स्टोरी’ हालिन । फरक दृश्य यत्ति छ अघिल्लो दिन भीम रावलले केपीसँग काँध मिलाएको फोटो भाइरल भएको थियो ।

राजनीतिमा भिम रावल र लक्ष्मी चौधरी एउटै प्रदेशका भएपनि उनीहरुको हैसियतमा आकास र जमिनको फरक छ। रावल ओलीको उग्र विरोधी र लक्ष्मी खास चर्चामा नरहेकी । तर हजार दबाब आएपनि लक्ष्मी गलिनन्, जबकी भीम रावल ओलीसँगको एक गोप्य भेटबाटै १८० डिग्रीमा मोडिए । 

विद्यादेवी भण्डारी भीम रावल लक्ष्मी चौधरी

विशेष