नयाँ दुई दल दर्ताका लागि सनाखत सकियो
निर्वाचन आयोगमा नयाँ दुई दल दर्ताका लागि सनाखत सकिएको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद र केन्द्रीय सदस्यले पार्टी दर्ताका लागि सनाखत गरेका छन् ।
एकीकृत समाजवादीबाट ५५ जना केन्द्रीय सदस्य र लोसपा नेपालवाट संघीय संसदका १४ जना सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन्। महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल दर्ताका लागि बुधबार आयोगमा प्रतिनिधि र राष्ट्रिय सभाका १४ सांसदले सनाखत गरेको नेता केशव झाले जानकारी दिए।
जसपाका प्रतिनिधि सभामा ३४ र राष्ट्रिय सभामा तीन जना सांसद छन्। तीमध्ये रेशम चौधरीसहित दुई जना निलम्वनमा छन् । चौधरीले डिल्लीबजार कारागारबाट मञ्जुरीनामा दिएको झाले बताए।
सनाखत गरेसँगै नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र ठाकुर नेतृत्वको लोसपा दर्ता हुने भएको छ। केही समयअघि जारी भएको अध्यादेशअनुसार कुनै दल विभाजन हुन केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत बहुमत भए पुग्ने व्यवस्था छ।
नेकपा (एकीकृत समाजवादी) लोकतान्त्रिक समाजवादी पार्टी लोसपा