News

माधव नेपाललाई लाग्यो अपहरणको आरोप

माधव नेपाललाई लाग्यो अपहरणको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर गएका माधवकुमार नेपाललाई अपहरणकारीको आरोप लगाएका छन् ।

ओलीले नेपाल पक्षको चन्द्रागिरिमा बसेको बैठकलाई अपहरणकारी कामको संज्ञा दिएका हुन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीले घरघरबाट मान्छे टिपेर रिसोर्ट पु¥याइ थुनेर राखेको आरोप लगाए । 

नेता नेपालले ढोक्सेमा माछा हालेझै सांसद र नेताहरुलाई टाकुरामा पुर्याएर वन्धक वनाएको ओलीको आरोप छ । ’यहाँ वर्तिर–पर्तिर होइन। उहाँ टाकुरामा लगेर तीन दिनदेखि थुनेर, यहाँबाट ढोक्सेमा हालेर, ढोक्सेमा हालेपछि माछा उम्किन पाउँदैन। त्यो ढोक्से निर्वाचन आयोगमा लगेर खन्याउने काम भयो’ ओलीले भने–‘यो काम के लोकतान्त्रिक हुन्छ? वास्तवमा भन्ने हो भने यो बलजफ्ती, अपहरणकारी, ज्यादतीपूर्ण काम हो।’

पार्टीका साधारण सदस्यदेखि लिएर अध्यक्ष भनेर दर्ता भएका मान्छे समेत भेला गरेर राखेको उनले वताए । ‘साधारण सदस्यदेखि लिएर त्यो तहका मान्छे भएको बैठक हुन्छ? कुनै बैठक होइन। मान्छे घेराबन्दी गरियो। घरघरबाट तानियो, लगियो। बाध्य बनाइयो’– उनले भने।

अपहरणकारी कामलाई सञ्चार माध्यमले पनि बैठक लेखिदिएको भन्दै उनले चित्त दुखाए । ‘बैठक भनेको एक लेभलको हुन्छ। कि सांसदको हुन्छ। कि स्थायी कमिटीको हुन्छ। कि केन्द्रीय कमिटीको हुन्छ। बैठक भइरहेको थियो त्यहाँ?, कुन कमिटीको बैठक भइरहेको थियो त्यहाँ?’ उनले प्रश्न गरे।
 
अध्यक्ष ओलीले पार्टी बचाउन नसकेकोमा दुःखी भएको बताए। पार्टीभित्रका केही मान्छेलाई आफूले सच्याउन नसकेको बताएका उनले भने–‘प्रयास गर्दागर्दै पनि केही मानिसका मनोवृत्ति र प्रवृत्तिले गर्दा त्यसलाई बचाउन सकिएन। त्यसमा म दुःखित छु।’

नेकपा एमाले केपी शर्मा ओली माधवकुमार नेपाल अपहरणकारी

विशेष