निर्वाचन आयोग र सभामुख विरुद्ध एमाले अदालत जाने

निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाले आफु अनुकुल निर्णय नगरेपछि नेकपा एमालेले त्यसविरुद्ध अदालत जाने निर्णय गरेको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले आयोग र सभामुख विरुद्ध अदालत जाने निर्णय गरेको हो ।
विवादित विषयमा आयोग र सभामुख मुछिएकाले अदालत जाने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। ‘पार्टीले कारबाही गरेको र अनुपस्थित भएकाहरूको निर्वाचन आयोगले सनाखत गरेको छ’ ज्ञवालीले भने–‘पार्टीले सांसदहरूमाथि गरेको कारबाही सभामुखले रोक्नुभएको छ। त्यसविरुद्ध हामी कानुनी उपचारमा जान्छौं।’
पार्टीले सबै विषयमा आवश्यक तयारी गरेर अदालत जाने उनको भनाइ छ। सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा २१ दिनभित्र जनप्रतिनिधिहरूले दल रोज्न पाउने विषयमा पनि कानुनी प्रतिवाद गर्ने उनले बताए।
‘सनाखत गर्ने भनेको हस्ताक्षर गरेको रुजु गर्ने हो। तर, हस्ताक्षर नै नभएको र उपस्थित नै नभएका व्यक्तिको पनि सनाखत गरेको छ’ उनले भने–‘निर्वाचन आयोगले विवाद समाधानका लागि भूमिका निर्वाह गर्नुपर्नेमा विवादित काम गरेको छ।’
बैठकले स्थायी कमिटीको १० बुँदे सहमति कार्यान्वयनलाई मूर्त रूप दिएको र पार्टीलाई पूर्ववत् सञ्चालन गर्न महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदल गठन गरेको जानकारी उनले दिए।
कार्यदलमा पार्टीको संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चाका इन्चार्ज रहेका सचिव गोकर्ण विष्ट र हाल एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझी छन्।
निर्वाचन आयोग सभामुख नेकपा (एमाले)