News

जनगायक जेबी टुहुरेको निधन

जनगायक जेबी टुहुरेको निधन

मस्तिस्क घाटका कारण राजधानीको बयोधा अस्पतालमा उपचाररत जनगायक जेबी टुहुरेको निधन भएको छ। बिहीबार साढे १२ बजे उनको निधन भएको राष्ट्रिय नाचघरको पूर्वमहाप्रवन्धक राजेश थापाले जानकारी दिए ।

७८ वर्षिय उनलाई मुटुसम्बन्धी समस्या, फोक्सो, मधुमेह  र उच्च रक्तचापको समस्या थियो। मस्तिस्कघात भएपछि गत मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।

पिता कृष्णबहादुर खड्गी र माता दानदेवी खड्गीका जेठो छोराको रूपमा जेबी टुहुरे वि.सं. २००१ कात्तिक १५ गते धरानमा जन्मिएका थिए। उनको वास्तविध नाम जुटबहादुर खड्गी हो। जब २०२१ सालमा उनका पिताको निधन भयो, त्यसपछि उनले आफ्नो नामको पछाडि टुहुरे जोड्न थालेका हुन्।

पञ्चायतकालदेखि नै कम्युनिष्ट पार्टीमा लागेर उनले कैयन गीत गाए, बुढापाका र महिलाहरूलाई कम्युनिष्ट आन्दोलनमा आकर्षित गराए। उनी कम्युनिष्ट आन्दोलनलाई गीतको माध्यमद्वारा अगाडि बढाउने सर्जक भनेर चिनिन्छन्।

‘आमा दिदी बहिनी हो’ बोलको गीत उनको सबभन्दा लोकप्रिय गीत हो। यो गीतको साथमा नेकपा एमालेले पूर्वदेखि पश्चिमसम्म टुहुरेलाई आफ्ना चुनावी कार्यक्रममा लैजान्थ्यो। तर, उनी २०७० सालमा माओवादीमा प्रवेश गरेका थिए। 

जेबी टुहुरे

विशेष