News राजनीति

केन्द्रीय सदस्यलाई देउवाको निर्देशनः निधिको कार्यक्रममा नजानु

केन्द्रीय सदस्यलाई देउवाको निर्देशनः निधिको कार्यक्रममा नजानु

नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनमा आफु विरुद्ध सभापतिमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधीका कार्यक्रममा सहभागी नहुन सभापति शेरबहादुर देउवाले आफू निकट केन्द्रीय सदस्यलाई उर्दी जारी गरेका छन् ।

देउवाले शुक्रवार वालुवाटारमा आफु निकट केन्द्रीय सदस्यहरूलाई डाकेर निधिका कार्यक्रममा सहभागि नहुन भनेका हुन । 

सभापतिका लागि उम्मेदवारी घोषणा गरेका निधिले सोही प्रयोजनका लागि शुक्रबार बानेश्वरमा सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। उक्त कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल समुहका डडेलधुरा जिल्ला सभापति कर्ण मल्ल, नुवाकोट सभापति जगदीशनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य तथा प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरत शाह, प्रदेश २ का मन्त्री रामसरोज यादव, सुर्खेत सभापति कमलराज रेग्मी, धादिङ सभापति रमेश धमला, संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ, धनुषा सभापति महेशचन्द्र गिरीलगायत निधिको कार्यक्रमममा सहभागी छन्।

यसै विषयमा कुरा गर्न देउवाले शुक्रवार वरिष्ठ नेता पौडेलसँग पनि भेटवार्ता गरेका छन् । भेटमा पौडेलले उल्टै देउवालाई क्रियाशील सदस्यता तत्काल टुङ्गो लगाउन दबाब दिएका छन् । आजै बिहान बसेको आफू पक्षीय नेताको बैठकले गरेको निर्णय अनुसार नेता पौडेलले सभापति देउवालाई क्रियाशील सदस्यता सम्बन्धि बाँकी विवाद तत्काल टुंगो लगाई महाधिवेशनको प्रक्रिया छिटो शुरु गर्न दबाब दिएको नेता डा. मिनेन्द्र रिजालले जानकारी दिए।

नेपाली कांग्रेसको महाधिवेशन बैधानिक ढंगले आगामी मंसिर ९ देखि १३ गते सम्पन्न गर्न यही भदौ १८ गते देशभरको वडा अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । तर क्रियाशील सदस्यतामा देखिएका विवाद अझै समाधान हुन सकेको छैन ।
 

नेपाली काँग्रेस विमलेन्द्र निधी केन्द्रीय सदस्य शेरबहादुर देउवा चौधौं महाधिवेशन

विशेष