News राजनीति

अष्टलक्ष्मी शाक्य र भीम आचार्य माधवसँगै फर्किने तयारी

अष्टलक्ष्मी शाक्य र भीम आचार्य माधवसँगै फर्किने तयारी

गुट परिवर्तन गरेर वाग्मती प्रदेशमा मुख्यमन्त्री वनेकी अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा मुख्यमन्त्री वनेका भिम आचार्य पुरानै गुटमा फर्किने चर्चा सुरु भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली निकट बागमती प्रदेशका डोरमणी पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई विस्थापित गरेर मुख्यमन्त्री भएपछि उनीहरु पुनः पुरानै गुटमा फर्किन लागेको एमाले भित्रकै नेताहरु चर्चा गर्न थालेका छन् ।

शाक्य नेता माधवकुमार नेपाल र आचार्य झलनाथ खनालको साथ छोडेर एमालेवाट मुख्यमन्त्री बनेका हुन । नेकपा एमाले औपचारिक रुपमा विभाजित भएर नयाँ दल बनेपछि शाक्य र आचार्यको सरकार अल्पमतमा पर्ने पायः निश्चित छ। उनीहरुले आफनो सत्ता जोगाउन कित्ता परिवर्तन गर्न सक्ने कतिपयको वुझाई छ। 

शेरवहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि प्रदेश सरकारको समीकरणमा अचानक फेरबदल आएको थियो । 

वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा भिम आचार्य मुख्यमन्त्री भए। सरकारको सिफारिशमा राष्ट्रपतिले ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि नेता माधवकुमार नेपालले नयाँ दल दर्ताका लागि दिएको निवेदनको असर थियो यो । खनाल नेपाल समुहका नेतालाई एमालेमै रोक्ने अध्यक्ष केपी शर्मा ओलीको प्रयास स्वरुप आचार्य र शाक्य मुख्यमन्त्री वनेका हुन ।

संविधान र कानुनको उल्लंघन गरेको तथा सङ्गठनप्रति संरचना ध्वस्त पारेको भन्दै अध्यक्ष ओलीसँग वैचारिक मतभिन्नता राखेका माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहमा रहँदै आएका आचार्य र शाक्यसँगै अन्य नेताहरु पनि एमालेमा रहे ।

ओलीका प्रखर आलोचक उपाध्यक्ष भीम रावल, ओलीले स्पष्टीकरण सोधेका र कारबाही गरेका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतले पनि नेपाललाई साथ नदिइ ओलीकै नेतृत्वमा रहने निर्णय गरे । 

तर, शाक्य र आचार्यको पछिल्लो चर्चाले एमाले भित्रको समिकरण एक पटक फेरी फेरिने सम्भावना देखिन थालेको छ । आचार्य र अष्टलक्ष्मीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा जाने तयारी थालेको स्रोतको दावी छ।

शाक्य र आचार्यले वैचारिक मतभिन्नता राखेर केही समयपछि नै ओलीसँग विद्रोह गर्ने तयारी भईरहेको जनाईन्छ। एमाले छोड्दा कानुनी रुपमा प्रदेश सरकारलाई पर्ने असर र प्रभावका विषयमा अध्ययन गरेर त्यसपछि निर्णय लिने उनीहरुले तयारी गरेको स्रोतको दावी छ।

शाक्य र आचार्यले विद्रोह गरेर माधव नेपालको पार्टीमा गए त्यो घट्ना अनौठो नहुने एमालेकै कतिपय नेताहरु वताउँछन् । एमालेभित्रको पछिल्लो विग्रह र स्वार्थको समीकरण पदको भोक र कुण्ठाग्रस्त मानसिकताको उपज भएकाले भविष्यमा कुन नेताले कस्तो कदम उठाउँछ भनेर ग्यारेन्टी गर्न सक्ने अवस्था नै नरहेको उनीहरुको भनाई छ।

यद्यपी शाक्यले भने सत्तामा टिक्न पार्टी परिवर्तन नगर्ने वताउँदै आएकी छिन् । 

अष्टलक्ष्मी शाक्य भिम आचार्य केपी शर्मा ओली पुरानै गुट

विशेष